शुक्रबार, साउन २२ गते २०८३

पानीको मुहान सुकेपछि रित्तियो गाउँ

पानीको मुहान सुकेपछि रित्तियो गाउँ

बुधबार, असोज २ २०८१
  • पानीको मुहान सुकेपछि रित्तियो गाउँ

    दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ को ‘ध्ये गाउँ’  रित्तिएको छ। गाउँ रित्तिँदै जानुको मुख्य कारण जलवायु परिवर्तन हो।

    जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिस बस्ती छाड्न बाध्य भए। पानी खोज्दै हिँडेका उनीका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो। उनीहरूले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो। मानिस बस्न छाडेपछि पुराना घरहरू भत्किँदै गएका छन्। बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ।

    पानी खोज्दै बसाइ सर्नेहरू बढेपछि ध्येको सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ का वडाध्यक्ष पासाङ गुरुङले पानीको समस्याका कारण आन्तरिक बसाइसराइ भएपछि ध्ये गाउँमा बस्ने कोही पनि नभएको जानकारी दिए। 

    ‘सिँचाइ र खानेपानीको मुहान सुकेपछि बस्न सक्ने स्थिति रहेन’, उनले भने, ‘जमिन सबै बाँझो हुँदै गयो। मानिस र पशुले पानी खान नपाएपछि थातथलो छाडेर बसाइ सर्नुपर्ने बाध्यता आएको हो।’ आफूले बाल्यकालदेखि नै ध्येमै बिताए पनि अहिले पानीकै कारण छाड्न बाध्य भएको उनले बताए।
        
    खेती किसानी र पशुपालन ध्येवासीको जीविकोपार्जनको मुख्य आधार हो। हिउँदमा हिउँ कम पर्न थालेपछि मुहान सुकेको वडाध्यक्ष गुरुङले बताए। ‘पानीको मुख्य स्रोत नै हिउँ थियो, जलवायु परिवर्तनका कारण भने जति हिउँ पर्न छाड्यो’, उनल भने, ‘भएका प्राकृतिक मुहान सुक्दै गए भने हिउँ कम परेकाले पानीको अभाव चर्कियो।’

    उनका अनुसार अहिले स्थानीयहरू बर्खामा भेडा च्याङ्ग्रा चराउन मात्र गोठ लिएर ध्ये जाने गर्छन्। पानी पर्न छाडेपछि खेतीयोग्य जमिन खेती हुन छाडेको छ। 

    ध्ये साविक सुर्खाङ गाविसको वडा नम्बर ९ पर्दथ्यो। अहिले ध्ये र थामजुङ एउटै वडामा पर्छन्। यहाँ गुरुङ र लोवा जातिका मानिसको बसोबास बाक्लो छ। पानीको अभाव बढ्दै गएपछि तत्कालीन गाविस र जिल्ला विकास समितिले  बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएका थिए। सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा पूर्वाधार निर्माण भएको वडाध्यक्ष गुरुङले बताए। नयाँ बस्तीमा उनीहरूले स्याउखेती  गरिरहेका छन्। ‘तापक्रम वृद्धि र जलवायु परिवर्तनले सबैभन्दा बढी असर हामीलाई पारेको छ’, उनले भने।

    ध्ये गाउँ समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ। ध्येबासी बसाइसराइ गरेको थामजुङस्थित नदी किनारको बस्ती तीन हजार ७०० मिटर उचाइमा छ। यो गाउँमा हाल २६ घरधुरीको बसोबास छ। 

    बस्तीसँगै विद्यालय थामजुङमा सारिएको छ। २०६४ देखि नै ध्येवासी बसाइ सरेर बेँसीमा रहेको थामजुङमा झर्ने क्रम शुरु भएको थियो। चराङ र सुर्खाङको नजिकै रहेको थामजुङमा खानेपानी, विद्युतलगायत सुविधा छ। रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार