शुक्रबार, साउन २२ गते २०८३

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

बिहीबार , असोज ३ २०८१
  • ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

    म्याग्दी । चारैतिर नांगो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बत्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् । 

    यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ्ग’ गुफा ।  लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङका अनुसार परापूर्वकालमा यस गुफामा मानव बस्ति थियो, त्यसैले प्राचिन मानव सभ्यता झल्काउने संकेत अहिले पनि देख्न सकिन्छ । उनी भन्छन्, “गुफाभित्र रहेका सामग्री र अग्रजको भनाइअनुसार दुई हजार वर्ष पहिले बस्ती विकास हुनुअघि यस गुफामा मानिस बसेका थिए । प्राचिन मानव सभ्यताको झल्को दिने यो गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।”

    समुद्री सतहदेखि तीन हजार ७८५ मिटर उचाइमा अवस्थित जोङ्ग गुफाका नामले चिनिने यस गुफालाई स्थानीयले ‘सिजा जोङ्ग’ भन्छन् । भुइँसहित ६ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन् । 

    हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन् । एउटा तलादेखि अर्को तलामा उक्लने भर्याङ छ । गुफाका हेरालु छिरिङ गुरुङले पर्यटकीय याममा दैनिक ५० जनाभन्दा बढीले गुफा अवलोकन गर्ने गरेको बताए । 

    असोज, कात्तिक, चैत, वैशाख र जेठमा यहाँ पर्यटकको चहलपहल हुन्छ । “यो गुफामा कहिले मानिस बसे भन्ने आधिकारिक तथ्य र प्रमाण हामीसँग छैन”, उनले भने, “परापूर्वकालमा दुस्मनबाट बच्नका लागि पनि एकैठाउँमा गाउँभरिका सबै परिवार बस्नका लागि यो गुफा प्रयोग गरेको बाबु बाजेले सुनाउनुहुन्थ्यो ।”

    किंवदन्तीअनुसार परापूर्वकालमा तिब्बती समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा गुफामा गएर लुकेर बसेका थिए । आक्रमणकारी समूहले पानीको मुहान थुनिदिए छन् । तर, गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट लखेटेपछि त्यसको प्रतिकारमा आतंककारी समूहले गुफाभरि तेल पोखिदिएको थियो । त्यसैकारण अचेल पनि गुफाभित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ ।

    गाउँलेले आतंककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहेको भन्ने गरिएको स्थानीय सोनु टसीले बताए । मुस्ताङमा रहेका अन्य गुफाभन्दा सिंजा जोङ्ग ठूलो र फरक पहिचान भएको गुफा मानिने गरेको उनको भनाइ छ । 

    यहाँस्थित व्यवस्थापन समितिले गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकसँग एक हजार तथा स्वदेशी पर्यटकसँग एक सय शुल्क लिने गरेको छ । गुफामा रहेका सामग्रीलाई संरक्षण गरेर राखिएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार