काठमाडौं । मुग्लिन–काठमाडौं सडक आज (आइतबार)देखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं आउनेजाने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबीसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।
यसैगरी चितवनतर्फबाट नौबीसे जाने सवारीसाधन चालीसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ ।