काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म बाम एकता नहुने बताएका छन् ।‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, वामपन्थी एकता हुने स्थिति छैन’, जनकपुरमा पत्रकारसँग कुरा गर्दै ‘प्रचण्ड’ले भने । ‘प्रचण्ड’ले तत्काल आफूहरूको सरकार बनाउनेतर्फ ध्यान नभएकाले काँग्रेससँग पनि सहकार्य नहुने बताए । उनले आफूहरू अहिले पार्टी सुदृढीकरणमै ध्यान दिइरहेकोले जनतातर्फ नै फर्किएको बताए ।
‘अहिले सरकारमा हाम्रो ध्यान छैन । हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने, सुदृढीकरण गर्ने अभियानमा छौँ । यो अभियान हाम्रो लागि जरुरी भएको छ’, प्रचण्डले भने, ‘देशको लागि जरुरी भएको छ । हाम्रो उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको निम्ति अझ मधेशी जनताका निम्ति अझ बढी आवश्यकता भएको छ ।’
‘प्रचण्ड’ले अगाडि भने, ‘हामी पनि कहिले एमाले, कहिले काँग्रेससँग मिल्दा उनीहरूको अलिअलि उनीहरूको कल्चर सर्याजस्तो भा’छ । हामी अलिकति नुहाइधुवाइ गरेर जनतासँग फेरि जानुपर्यो भन्ने छ । हामीलाई सरकारमा अहिले ध्यान छैन ।’