मंगलबार, वैशाख २४ गते २०८२

फेवाताल पुरिन नदिन मुहानमै ड्याम,एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा

फेवाताल पुरिन नदिन मुहानमै ड्याम,एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा

अखबार दैनिक
शनिबार, असार ६ २०७७
  • फेवाताल पुरिन नदिन मुहानमै ड्याम,एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा

    गण्डकी — बर्खामा वरिपरिका खोलाबाट बाढीसँगै गिट्टीबालुवा थुप्रिएर फेवाताल पुरिने क्रम रोक्न एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा पुगेको छ । अँधेरीखोला, हर्पनखोला, बेत्यानीखोला र लौरुकखोलामा ड्याम बनाइएका हुन् ।

    images
    गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साझा योजनाअन्तर्गत अँधेरीखोला, हर्पनखोला र बेत्यानीखोलामा ड्यामको काम ९५ प्रतिशत सकिएको छ । लौरुकखोलामा पनि ७० प्रतिशत काम पूरा भएको पोखरा महानगरका इन्जिनियर विमल आचार्यले बताए ।उनका अनुसार २८ करोड १६ लाख ११ हजार रुपैयाँमा निर्माण सम्झौता गरिएका यी ड्यामका लागि प्रदेश र महानगरले ५०/५० प्रतिशत लगानी गरेका छन् । अँधेरीखोलामा ९ करोड ६ लाख ४ हजार, हर्पनखोलामा ७ करोड ८८ लाख ६२ हजार, लौरुकखोलामा ५ करोड ७४ लाख ८४ हजार र बेत्यानीखोलामा ५ करोड ४६ लाख ५८ हजारमा ड्याम बनाउने सम्झौता भएको हो । अधेरी, हर्पन र लौरुकको ठेक्का खड्का कृष्ण पिके जेभी र बेत्यानीको ठेक्का गीता जयनेपाल ईश्वर जेभी कम्पनीले लिएका छन् । २०१९ सेक्टेम्बरमा सम्झौता भएका यी योजनाको सम्पन्न हुने मिति २०२१ जनवरी हो ‘चारवटै खोलाबाट गरी बर्सेनि २ लाख ५६ हजार घनमिटर ग्राभेल फेवातालमा पुग्छ । यसले गर्दा ताल पुरिँदै र साँघुरिँदै गएको छ,’ इन्जिनियर आचार्यले भने । सबै ड्याम ‘यू’ आकारमा निर्माण भएका छन् । अँधेरीको ड्यामको लम्बाई सय मिटर छ जुन बीचको भाग हो । छेउछेउमा ८२ र ८३ मिटर छ । यसको उचाइ बीचमा ४.१ र छेउछेउमा ४.५ छ । हर्पनखोला ड्यामको बीचको लम्बाइ ९१ मिटर छ भने दायाँतर्फ ९६ र बायाँतर्फ ११६ मिटर छ । बायाँतर्फ बस्ती भएकाले अलि उचाइ राखिएको इन्जिनियर आचार्यले बताए । बेत्यानीको बीचको लम्बाइ ४० मिटर छ । छेउछेउमा ६०/६० मिटर छ । त्यस्तै लौरुकखोलाको बीचको भाग ४३ मिटर र छेउछेउमा ५०–५० मिटर छ ।‘सिल्ड ग्राभेलले फेवाताल पुर्ने भएकै कारण त्यसलाई हटाउन मुहानबाटै रोक्ने गरी पोखरी, स्परजस्ता विभिन्न संरचना निर्माण गरिएको हो,’ आचार्यले थपे । लकडाउनमा सुरुको एक महिना काम रोकिए पनि त्यसपछि निरन्तर छ । ‘एक महिनापछि पुनः विस्तारै केही कामदार आए । स्थानीय कामदारलाई पनि प्रयोग गरियो । जसकारण निर्माण रोक्नुपरेन,’ उनले भने ड्याम निर्माण कार्यको गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिले अनुगमन गरेको छ । आर्थिक वर्ष सकिन १ महिना बाँकी रहँदा निर्माण तीव्र गतिमा लैजान समितिले निर्देशन दिएको छ । समिति सभापति दीपक कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलीले लकडाउनको समयमा पनि काम भएकाले तोकिएको मितिमै निर्माण सम्पन्न हुने बतायो । ‘अन्य विकास–निर्माण योजनाको काम ठप्प रहँदा यहाँ भने रोकिएको छैन । धमाधम काम भइरहेको छ,’ कोइरालाले भने, ‘तर पनि केही समस्या छ कि भनेर बेलाबेलामा अनुगमन गरेका छौं ।’ टोलीले कामदार, ठेकेदार, प्राविधिक र स्थानीयसँग भेटघाट गरेको थियो ।गण्डकी सरकारले सोमबार मात्रै प्रस्तुत गरेको आगामी वर्षको बजेटमा समेत उक्त योजना समावेश गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत फेवाताल संरक्षणका लागि १० वटा ड्याम निर्माण गर्ने योजना छ । पहिलो चरणमा ४ वटा निर्माण गरिएको पर्यटनमन्त्री विकास लम्सालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार