मंगलबार, वैशाख २४ गते २०८२

कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेजस्तो भयो : योगेश भट्टराई

कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेजस्तो भयो : योगेश भट्टराई

अखबार दैनिक
मंगलबार, वैशाख २४ २०८२
  • कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेजस्तो भयो : योगेश भट्टराई

    नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले ​कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउँदा माओवादी अध्यक्ष प्रचण्डलाई मुटुमै गोली लागेजस्तो भएको टिप्पणी गरेका छन् ।  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा धारणा राख्दै उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री केपी ओजीले सरकारको एउटा सहसचिवलाई हटाउनुभयो । तर तपाईंको मुटुमै गोली लागेजस्तो किन भएको हो ?, प्रचण्डतिर इंगित गर्दै योगेशले भने ।

    images

    सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा नहान्न पनि उनले चेतावनी दिए । ‘विपक्षी दलको नेताले पटक-पटक यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया हावी छ भन्नुहुन्छ,’ योगेशले भने, ‘उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नगर्नुस् ।’

    प्रचण्डले शिक्षक, कर्मचारीदेखि सुरक्षाकर्मीलाई समेत भड्काउन खोजेको भन्दै उनले आपत्ति जनाए । ‘शिक्षकलाई सडक नछोड भन्नुभयो, म छु भन्नुभयो । १० दिन अगाडि नै शिक्षकसँग समझदारी हुन्थ्यो । तर यस्तै भड्काउ अभिव्यक्तिले गर्दा भएन,’ योगेशले भने, ‘शिक्षक, कर्मचारी, सुरक्षा निकायमा उत्पात मच्चाउन खोज्ने आजको विपक्षी दलको नेताको चरित्र होइन । हिजोको द्वन्द्वको बेलाको चरित्र हो । यो आलोचना होइन, सम्झाउन खोजेको हो ।’ उनले ५६ पेजको नीति तथा कार्यक्रम यसपटक प्राथमिकताको क्षेत्र हेरेर आएको बताए । सुशासन गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, छिटोभन्दा छिटो आम जनतामा देखिएको निराशालाई चिर्न ठूला पार्टीको सरकार बनेको हो, उनले भने ।

    नीति कार्यक्रमले मूलतः यिनै विषयलाई समेटेको उनले बताए छ । नीति कार्यक्रमले योजनाको प्राथमिकीकरणमा मुख्य ध्यान दिएको उनको भनाइ छ । स्रोतको सुनिश्चितता नगरी विगतमा कार्यक्रम राख्ने गरिएको भन्दै यसपटको कार्यक्रममा आयोजनाको पुनः प्राथमिकीकरण गर्ने विषयलाई समेटेको उनले बताए । ​ एकीकृत परियोजना बैंक, युवा, व्यावसायिक वातावरण, सार्वजनिक निजी साझेदारीलाई पनि सरकारको नीति कार्यक्रमले विशेष जोड दिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार