शुक्रबार, साउन २२ गते २०८३

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

आइतबार, वैशाख २८ २०८२
  • जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

    वैशाख २८ दाङ । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिनुभएको छ । उहाँले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आउनुभएको छ ।

    खड्काले व्यावसायिक रूपमा तरकारीखेतीमा लागेको १० वर्ष भयो । बुबाले गरेको कर्मलाई नै मार्गदर्शन मानेर खड्काले सुरुमा थोरै मात्रामा खेती गर्दै आएको भए पनि व्यावसायिक रूपमा लागेपछि ठूलो परिमाणमा खेती गर्नुभएको हो ।

    तरकारीखेती गर्दै जाँदा लगाउने आधुनिक तरिकाबारे सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उहाँको भनाइ छ । किसान खड्काले खेती गर्दै जाँदा यसमा धेरै कुराको अनुभव बटुल्न पाएको बताउनुभयो । “स्वदेशमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ गर्दै आएको तरकारीखेतीले प्रतिफल राम्रो दिँदै गएको छ”, उहाँले भन्नुभयो, “कृषि पेसामा पनि आफूले तरकारीखेती नै धेरै सम्भावना देखेर यसलाई निरन्तरता दिँदै आएको छु, त्यसैअनुरुप खेती गर्दै जाँदा उत्पादन बढ्न थाल्यो ।”

    राप्ती बवई एग्रिकल्चर प्रालिमार्फत सञ्चालन गर्दै आउनुभएको खेतीमा उहाँले बोडी, काक्रा, करेला, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । केही वर्ष अगाडि रोल्पामा पनि तरकारीखेती गरेको, त्यहाँ ढुवानी र बजारको समस्या हुने भएकाले दाङमा झरेर थप व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएको किसान खड्का बताउनुहुन्छ ।

    जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आउनुभएका खड्काले यसबाट आकर्षक आम्दानी हुने गरेको बताउनुभयो । सानैदेखि नै यही पेसामा लागेकाले आफूले अन्य कामतिर ध्यानै नदिएको र यसमै सन्तुष्ट रहेको उहाँको भनाइ छ ।

    खड्काले वार्षिक रु दुई करोडभन्दा बढी मूल्यको तरकारी उत्पादन गर्दै आउनुभएको छ । “जसबाट ३५ प्रतिशत बचत हुने गरेको छ, भाडाको जग्गाको वार्षिक रु पाँच लाख तिर्ने गरेको छु”, उहाँले भन्नुभयो, “स्थानीय नागरिक तरकारी फार्ममै काम गर्न पाउँदा उनीहरू पनि खुसी भएका छन्, दुई–चार पैसा कमाउन अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ, भोलिका दिनमा व्यवसायलाई अझ बढाउँदै लैजाने उहाँको सोच छ ।”

    तरकारी फार्ममा काम गर्दै आउनुभएका स्थानीय गीता महरा घर नजिकै काम पाउँदा खुसी भएको बताउनुहुन्छ । काम गरेबापत तलब पनि समयमा पाउँदै आएको उहाँको भनाइ छ । उहाँजस्तै रञ्जिता चौधरी पनि विगत दुई वर्षदेखि त्यही तरकारी फार्ममा काम गर्दै आएको बताउनुहुन्छ । यहाँ काम गरेदेखि परिवारको घरखर्चमा केही सहयोग मिलेको उहाँले बताउनुभयो । धेरै दुःख पनि नहुने दुई–चार पैसा कमाउनका लागि अन्यत्र जान नपर्ने उहाँको भनाइ छ ।

    आफ्नै देशमा उत्पादनको प्रशस्त सम्भावना भएर पनि वार्षिक करोडौँ रुपैयाँको तरकारी आयात हुँदै आएको छ । स्वदेशभित्रै उत्पादन गर्न सकिने र बजारीकरणको पनि समस्या नहुने अवस्थामा तरकारीखेतीलाई प्रोत्साहन गरी स्वदेशभित्रै रोजगारी बढाउने काममा तीनै तहका सरकारले जोड दिनुपर्नेमा स्थानीय अगुवाले सुझाव दिएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार