रामेछाप । जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी किराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि किराका कारण निस्कन सकेका छैन । केही निस्किहाले पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या छ ।
मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगङ्गा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी किराले दुःख दिने गरेको हो । उक्त किरा नियन्त्रण नगर्ने हो भने मकैबाली सखाप परिदिने अवस्था भएको मन्थली नगरपालिका–७ की किसान सरिता ढुङ्गेलले बताए ।
नगरपालिकाका कृषि विकास शाखाका प्रमुख कृष्ण भुजेलले फौजी किराले मकैबालीलाई दुःख दिएको जानकारी आफूले पाएको भन्दै पालिकामार्फत त्यसको नियन्त्रणका लागि आवश्यक पहल भइरहे पनि नियन्त्रणका लागि समस्या रहेको बताए । रासस