बिहीबार , साउन २१ गते २०८३

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो

अखबार दैनिक
बुधबार, कात्तिक १९ २०८२
  • प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो

    शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थालेको छ । व्यवस्थापन केन्द्रमा रहेका पशुचौपायाबाट उत्पादित मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउन थालेपछि माटोको उर्वराशक्ति र उत्पादनमा वृद्धि शुन थालेको हो ।

    शुक्लाफाँटा-९ का वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार किसानलाई अहिले प्रतिट्याक्टर रु चार हजार ५०० मा प्राङ्गारिक मल उपलब्ध गराउने व्यवस्था गरिएको छ । “किसानलाई रासायनिक मलको असर र प्राङ्गारिक मलका फाइदाबारे निरन्तर सचेतना दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “रासायनिक मलले माटोको गुणस्तर घटाउँछ भने प्राङ्गारिक मलले दीर्घकालीन रूपमा उर्वर बनाउँछ ।”

    पछिल्लो समय सचेतना फैलाउन थालेपछि प्राङ्गारिक मलको माग पनि बढिरहेको बताउँदै ऐरले अहिले १५ देखि २० ट्याक्टर मल मौज्दात रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पराल दिने किसानलाई निःशुल्क मल वितरणको व्यवस्था गरिएको छ ।

    “एक ट्याक्टर पराल ल्याउने किसानलाई सोही परिणाममा निःशुल्क मल दिन्छौँ”, वडाध्यक्ष ऐरले भन्नुभयो, “यसले पशुचौपायाका लागि परालको आपूर्ति सहज बनाएको छ भने केन्द्रलाई पराल खरिदमा लाग्ने खर्च पनि घटाएको छ ।” मल बिक्रीबाट प्राप्त रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्ने जनाउँदै उहाँले उक्त रकम वडाको पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिने उल्लेख गर्नुभयो ।

    नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि स्थापना गरेको उक्त केन्द्रमा हाल करिब चार सयभन्दा बढी पशुचौपाया राखिएका छन् । चौपायाको चारो, घाँस, औषधोपचार, हेरचाह र हेरालाका लागि नगरपालिकाले खर्च व्यवस्थापन गर्दै आएको छ ।

    पछिल्लो समय उत्पादनमा सुधार हुन थालेपछि किसानले पनि प्राङ्गारिक मलको फाइदा अनुभव गर्न थालेका आलुखेतीमा संलग्न लालबहादुर ऐरले बताउनुभयो । प्राङ्गारिक मलको प्रयोगपछि माटोको गुणस्तरमा सुधार आउनुका साथै विगतका वर्षको तुलनामा उत्पादन पनि बढेको उहाँको भनाइ छ । “पाँच बिघामा आलुखेती गरेको बताउँदै उहाँले केन्द्रबाट ल्याइएको मल प्रभावकारी देखिएको महसुस भइरहेको धारणा राख्नुभयो ।

    “पहिले रासायनिक मल प्रयोग गर्दा बाली राम्रो लाग्थ्यो, तर वर्षौँपछि माटोको गुणस्तरमा नकारात्मक असर पर्दै गयो”, किसान भागिराम चौधरीले भन्नुभयो, “जबदेखि प्राङ्गारिक मलको प्रयोग गर्न थाल्यौँ, माटो फेरि जीवित जस्तो भएको अनुभूति गरेका छौँ ।”

    प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्नुका साथै मानव स्वास्थ्य र वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढा ऐरले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले दीर्घकालीन योजना बनाएर अभियानका रूपमा रासायनिक मलको प्रयोग घटाउने र वातावरणमैत्री कृषि प्रणालीलाई प्रोत्साहन गर्ने नीति लिएकोे छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार