काठमाडौं । अमेरिका र पश्चिमा कूटनीतिक स्रोतहरूले रुसले युक्रेनमाथि केही दिनभित्रै व्यापक र भीषण आक्रमण गर्नसक्ने चेतावनी दिएका छन् ।
अमेरिकी अधिकारीले बताएअनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी ड्रोन आक्रमणको ‘असिमेट्रिकल’ जवाफ दिने तयारी गरेका छन्, जुन एकमात्र नभई विभिन्न मोर्चाबाट आक्रमण हुने संकेत गरिएको छ ।
गत शुक्रबार रुसले कीभमाथि गरेको मिसाइल र ड्रोन आक्रमणलाई प्रारम्भिक प्रतिक्रिया मात्र मानिएको थियो । तर, अमेरिकी विश्लेषकका अनुसार मुख्य र पूर्ण रूपमा योजनाबद्ध आक्रमण अझै हुन बाँकी छ । यस आक्रमणमा विशेष रूपमा युक्रेनी सरकारी भवन, सुरक्षा निकायको मुख्यालय तथा रक्षा उत्पादन केन्द्रहरू लक्षित हुनसक्ने अनुमान गरिएको रोयटर्सले जनाएको छ ।
कार्नेगी एन्डोमेन्टका रूस विज्ञ माइकल कोफम्यानले सम्भवतः युक्रेनको आन्तरिक सुरक्षा निकाय (एसबीयू) तथा क्षेत्रीय गुप्तचर कार्यालयहरू रूसी निशानामा पर्ने बताए । उनी भन्छन्, “रुसले सन्देश दिनका लागि मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रयोग गर्न सक्छ ।”
यसअघि, युक्रेनले ‘स्पाइडर’ वेब नाम दिइएको अपरेसनमार्फत रुसभित्रको एयरबेसहरूमा ११७ ड्रोन प्रयोग गरी आक्रमण गरेको थियो । उक्त आक्रमणमा झण्डै २० युद्ध विमान क्षतिग्रस्त भएको अमेरिकी मूल्याङ्कन छ, यद्यपि रुसले विमान नष्ट भएको स्वीकार गरेको छैन ।
यही घटनापछि रुसको प्रतिक्रिया अझै तीव्र, व्यापक र निरन्तर हुने एक पश्चिमा कूटनीतिज्ञ बताउँछन् । “यो ठूलो, क्रूर र निरन्तर हुनेछ,” ती कूटनीतिज्ञ भन्छन्, “तर, युक्रेनीहरू साहसी छन् ।”
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग कुराकानी भएको बताउँदै आक्रमण नगर्न आग्रह गरेको बताएका छन् । “यो राम्रो हुँदैन जस्तो लाग्छ । मैले उनलाई भनेँ – त्यो नगर । तिमी रोकिनुपर्छ ।” ट्रम्पले भनेका थिए । तर, हालसम्म वासिङ्टनस्थित रूसी तथा युक्रेनी दूतावास र ह्वाइट हाउसले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।