चितवन राष्ट्रिय निकुञ्जले सौराहास्थीत राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैँडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ । दुई वटा गैँडा लैजाने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार करिब ३० महिनाको पोथी गैंडा (पुजा) लाई बुधबार सदर चिडियाखाना लगिएको हो । केही दिनअघि २३ महिनाको एउटा भाले गैँडा (माइला) लाई सदर चिडियाखाना लगिएको थियो ।
पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा राखिएको थियो । जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैँडाको हेरचाह गर्दै आएका लाल बहादुर महतराले आफूले हुर्काएका ६ वटा गैँडा मध्ये दुई वटा सौराहा, दुई वटा कोशी र दुई वटालाई चिडियाखानामा लगिएको बताए ।
पूजालाई यसअघि नै माइलासँगै लैजाने तयारी गरे पनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै लगिएको महतराले बताए । यससँगै अव सदर चिडियाखानामा गैँडाको संख्या तीन पुगेको छ ।