बिहीबार , साउन २१ गते २०८३

किसानलाई चैते धान थन्क्याउने चटारो

किसानलाई चैते धान थन्क्याउने चटारो

आइतबार, असार ८ २०८२
  • किसानलाई चैते धान थन्क्याउने चटारो

    डुम्रे । जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ ।

    जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ । भानु, व्यास, म्याग्दे, आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती हुने गरेको छ ।

    कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारका अनुसार जिल्लाका नौ हजार ४६४ हेक्टरमा धानखेती हुने भए पनि एक हजार ८०२ हेक्टरमा चैते धानखेती हुँदै आएको छ । मनसुन सुरु भएसँगै चैते धानखेती थन्क्याउन किसान व्यस्त छन् । चैते धान थन्क्याउनासाथ असारे धान ९बर्खे धान० रोप्ने चटारो हुन्छ । जिल्लाका चैते धानखेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्याननभ्याइ छ ।

    मनसुन सुरु हुनासाथ बर्खे धानमात्र हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको अधिकृत परियारले बताउनुभयो । तनहुँ धानखेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उहाँको भनाइ छ । उक्त क्षेत्रफलमा गरिएको धानखेतीबाट आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार ९४२ मेट्रिक टन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।

    चैते धान पवर्द्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएका अधिकृत परियारले बताउनुभयो । थन्क्याउने कार्य चलिरहेकाले चालु आवको तथ्याङ्क आउन बाँकी रहेको छ । उहाँले भन्नुभयो, “सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।”

    भानुको चुँदी, खहरे, सतीघाट फाँट, व्यासको घाँसीकुवा, साँगे, कलेस्ती, माझ, गजौडे, सिसाघाट फाँट, म्याग्देको गुणादी, थर्पु, पसले, सेरा फाँट, शुक्लागण्डकीको ढोरफिर्दी फाँट, भिमादको बुडुवा फाँटलगायत विभिन्न पालिकाका फाँटमा धानखेती हुने गरेको छ । चैते धान विशेषगरी चिउरा उत्पादनका लागि उपयोगी हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार