काठमाडौँ । मलेसियामा जारी एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ प्रतियोगिताको आइतबार सम्पन्न खेलमा नेपालले जीत हात पारेको छ । नेपालले सिंगापुरलाई ६ विकेटको फराकिलो अन्तरले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा १ सय ३८ रन बनाएर अलआउट भयो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३३.३ ओभरमा केवल चार विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो ।
नेपालीका लागि प्रसिद्ध जैसीले उत्कृष्ट अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान प्रसिद्धले अविजित ५५ रन बनाए । यस क्रममा उनले ९७ बलको सामना गरी पाँच चौका पनि प्रहार गरे । अर्का ओपनर सुर्यान्शु कोइराला भने नौ रनमै पेभेलियन फर्किए ।
नेपालको जीतमा चौथो नम्बरका ब्याट्सम्यान रौनक श्रीवास्तवले पनि ४० रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले ४४ बलको सामना गरी एक छक्का र पाँच चौका पनि प्रहार गरे । उक्त खेलमा छक्का प्रहार गर्ने उनी एकमात्र खेलाडी हुन् । शुभम खनाल नौ रनमा अविजित रहे । जारी प्रतियोगितामा नेपालले खेलेको यो पहिलो खेल हो । नेपाल दुई अंक बटुल्दै अंक तालिकाको पहिलो स्थानमा आसीन छ । समूह ‘ए’ मा नेपाल र सिंगापुरका अतिरिक्त भुटान, इन्डोनेसिया र जापान पनि छन् ।