मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपाली युवा टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले जापानमाथि ९ विकेटको फराकिलो जित हात पारेको हो। जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।
दोस्रो विकेटका लागि ओपनर प्रसिद्ध जैसी र विकेट किपर सिवांश बजगाइले ६९ बलमा ७६ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। प्रसिद्ध ३३ र सिवांश ३८ रनमा अविजित रहे। प्रसिद्धले ३७ बलमा ३ चौका प्रहार गरे। सिवांशले ४२ बलमा ७ चौका हाने।अर्का ओपनर जय थापा १ रनमा क्याच आउट भए।