एजेन्सी । दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ । उनले सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका थिए । श्रीनिवासले केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका थिए । उनी लामो समयदेखि बिरामी थिए । आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो बंगलामा अभिनेताले अन्तिम सास फेरेको बताइएको छ ।
श्रीनिवासले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन । उनलाई सन २०१५ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो । उनले राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेलेका छन । सन १९९९ देखि २००४ सम्म, उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्वका विधायक बनेका थिए ।
श्रीनिवासले अल्लु अर्जुनसँग फिल्म ‘सन अफ सत्यमूर्ति’मा काम गरेका थिए । यसबाहेक उनले अमिताभ बच्चनको बलिउड फिल्म ‘सरकार’मा पनि काम गरेका थिए । प्रतिघात, रक्त चरित्र र टाइगर श्राफको बागी जस्ता हिन्दी फिल्ममा पनि उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । उनी अन्तिम पटक सन २०२३ को फिल्म ‘कब्जा’मा देखिएका थिए ।