कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् । भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष बिताउनुभएका उहाँ व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुट्नुभएको हो ।
विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा व्यावसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । “वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गरी आठ वर्ष बिताएँ, अहिले विदेश छाडेर यहाँ नै व्यावसायिक कृषिमा लागेको छु । परिवारसँग बसेर आफ्नै ठाउँमा विदेश बराबरको आम्दानी गरिरहेको छु”, उहाँले भन्नुभयो ।
‘उन्नति कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर गाउँमा नै व्यावसायिक रूपमा कृषि पेसामा जुटेको उहाँको भनाइ छ । राम्रो मूल्य पाएको खण्डमा यो वर्ष खुर्सानीखेतीबाट रु दुईदेखि तीन लाखसम्म आम्दानी लिने लक्ष्य रहेको उहाँको भनाइ छ । आफ्नो बारीमा अहिले एक हजार ४०० बोट खुर्सानी लगाएको उहाँले जानकारी दिनुभयो । युवाहरूमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट उदाहरणीय बन्ने लक्ष्यका साथ कृषिकर्ममा जुटेको उहाँले बताउनुभयो ।
“हामी युवाहरू आफ्नो ठाउँमा सम्भावना खोजी गर्न छाडेर विदेश गइरहेको छौँ, राम्रो व्यावसायिक योजना बनाएर कृषि गर्न सकेमा यहाँ नै राम्रो आम्दानी लिन सकिने रहेछ । कृषि गरेर घरपरिवारलाई राम्ररी चलाएको छु”, उहाँले भन्नुभयो ।
आफ्नो बारीमा उत्पादन भएको अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सयदेखि तीन सयमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर काठमाण्डौँलगायत सहरमा जाने गरेको उहाँ बताउनुहुन्छ ।
पछिल्लो समय खुर्सानीमा पात कुप्रो पर्ने, फलमा कीरा लाग्ने, जरा कुहिनेलगायत रोग देखिन थालेको उहाँको भनाइ छ । खुर्सानीखेतीसँगै पशुपालन पनि गरिरहेकाले प्राङ्गारिक मलको प्रयोग गरेर जैविक प्रविधिबाट खुर्सानीखेती गर्दै आएको विष्टले बताउनुभयो । मानव स्वास्थ्यलाई ध्यानमा राखेर गोबर मलको मात्र प्रयोग गरेको उहाँको भनाइ छ । “मैले अग्र्यानिक अकबरे खुर्सानीखेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “मानव स्वास्थ्यलाई ध्यानमा राखेर मैले अग्र्यानिक खेतीमा जोड दिएको हुँ ।” करिब आठ रोपनी क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती गरिरहेको पनि उहाँले बताउनुभयो ।
व्यावसायिक कृषिमा लागेका किसानलाई तालिमसँगै प्राविधिक सहयोग भएमा थप सहजता हुने उहाँको भनाइ छ । राज्यले किसानलाई उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै आवश्यक सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । रासस