बिहीबार , साउन २१ गते २०८३

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

शुक्रबार, साउन ९ २०८२
  • कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

    कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् ।प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रुपमा कफीखेती भइरहेको छ । पाँच हजारभन्दा बढी किसानले कफीखेती गरिरहेको उहाँले बताउनुभयो ।

    हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ । यसको बजार मूल्य लगभग रु २० करोड छ । उत्पादित कफीको आधाभन्दा बढी परिमाण विदेश निर्यात हुने गरेको छ ।

    नेपालमा ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकामा कोशी प्रदेशको २० प्रतिशत योगदान रहेको छ । कोशी प्रदेशमा सबैभन्दा बढी कफी उत्पादन इलाममा हुने गरेको छ । इलामका दुई हजार बढी किसानले ९०० हेक्टरमा कफीखेती गर्दै आएका छन् । यहाँबाट ५० मेट्रिक टनको हाराहारीमा कफीको दाना उत्पादन हुने गरेको छ ।

    धनकुटा, मोरङ, पाँचथरलगायतका जिल्लामा उल्लेख्य क्षेत्रफलमा कफीखेती विस्तार गरिएको छ । बोर्डको तथ्याङ्कअनुसार धनकुटामा ७५०, मोरङमा ५०० र पाँचथर जिल्लामा ३५० हेक्टरमा विस्तार गरिएको छ ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ५० रोपनी जग्गामा कफीखेती गर्न इच्छुक किसान तथा सहकारीलाई रु सात लाख ५० हजार र नर्सरीमा बिरुवा उत्पादन गर्नेलाई रु तीन लाख ५० हजार अनुदान दिँदै आएको छ । बोर्डका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशका २४ वटा स्थानीय तहमा ११० हेक्टरमा कफीखेती विस्तार गरिएको र त्यसका लागि बोर्डले रु दुई करोड ३७ लाख बजेट खर्च गरेको छ ।

    त्यसैगरी चालु आवका लागि २३ स्थानीय तहमा खेती विस्तार गर्न बोर्डले रु दुई करोड ८३ लाख ५० हजार बजेट विनियोजन गरेको छ । “कोशी प्रदेश कफीखेतीका लागि उर्बर क्षेत्र हो”, बोर्डका सूचना अधिकारी ढुङ्गानाले भन्नुभयो, “उत्पादित कफी बिक्रीका लागि बजारको समस्या छैन । तथापि प्रशोधन, गुणस्तर, प्याकेजिङ, टे«डमार्कलगायतका विषयमा अनभिज्ञ भएकाले किसानहरुले सिधै अन्तरराष्ट्रिय बजारमा लैजान सक्ने अवस्था छैन ।” रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार