सोमबार, साउन २१ गते २०८२

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

अखबार दैनिक
सोमबार, साउन २१ २०८२
  • जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

    प्रतिनिधिसभाका सांसदहरूले जलवायु परिवर्तनको असर र कृषि सङ्कटको विषय उठान गर्नुभएको छ । संसद्को आजको बैठकमा उहाँहरूले जलवायु परिवर्तनका कारण सुक्खा बढ्दै गएको र यसको मुख्य असर कृषि क्षेत्रमा परेको भन्दै आगामी दिनमा यस्ता समस्या समाधान हुने गरी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

    images

    आजको विशेष समयमा सांसद ठाकुरप्रसाद गैरेले वर्षाको समयमा मधेसमा सुक्खा क्षेत्र घोषणा गर्नुपर्ने अवस्था आइपरेको उल्लेख गर्दै मौसमी प्रतिकूलतासँग जुध्न योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । “कहिले कृषकका लागि मलको अभाव त कहिले बीउको अभाव छ । सिँचाइको पनि अभाव छ । यी समस्या समाधान गरेर कृषकलाई प्रोत्साहन दिने नीति ल्याउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

    उहाँले केही सांसदहरुले निरन्तर संसद् बहिष्कार गरिरहेको उल्लेख गर्दै उक्त समस्याको समाधान निकाल्न आग्रह गर्नुभयो । “सदन बहिष्कार गर्ने राजनीतिक दललाई भन्न चाहन्छु, दलले आफ्नो नीति बदलेर सदनमा नै आफ्नो कुरा राख्नुपर्छ”, गैरेले भन्नुभयो, “संसद् प्रतिवाद गर्ने ठाउँ हो, कुरा राख्न पाउने ठाउँ हो । त्यसर्थ संसद् बहिष्कार गर्नु उचित होइन ।”

    उहाँले शिक्षा विधेयक पास गर्न ढिलाइ भइसकेको भन्दै समयमा नै विधेयक पास गर्नुपर्ने सुझाव दिनुभयो । सांसद् गैरेले जलवायु परिवर्तनका कारण पर्यटन, जलविद्युत्, कृषि क्षेत्र प्रभावित भइरहेका भन्दै जलवायु न्यूनीकरण तथा अनुकूलनको कानुन बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

    चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम्तीमा ८५ प्रतिशतसम्म पु¥याउनेगरी काम गर्न सरकारलाई सुझाव दिँदै, यसका लागि सांसदले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

    सांसद सीताकुमारी रानाले दैलेखमा लामो समयदेखि बँदेलले गर्दा कृषि उपज नष्ट हुने समस्या भोगिरहेको बताउनुभयो । “यसको आक्रमणबाट घाइते पनि भएका छन्, निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन आवश्यक छ । यो समस्याको बारेमा ध्यानाकर्षण गरिए पनि सुनुवाइ भएको छैन । बँदेलबाट कृषकको बाली नष्ट हुने कुराको रोकथामका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

    सांसद रानाले चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा प्राकृतिक ग्यास प्रमाणित भएको र मिथेन ग्यासको भण्डार रहेको उल्लेख गर्नुभयो । “ग्यासको गुणस्तरीय व्यावसायिक उत्पादन र आर्थिक लाभांशका बारेमा अन्तिम प्रतिवेदनबाट पुष्टि हुने नै छ । यसले नेपाललाई पेट्रोलियम पदार्थमा आत्मनिर्भर बनाउनेछ”, रानाले भन्नुभयो ।

    सांसद रणेन्द्र बराइलीले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी विधेयकको मस्यौदा तयार भइरहेको दाबी गर्दै कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले शिक्षकहरूको समस्या लामो समयदेखि समाधान हुन नसकेको स्मरण गराउँदै सरकारले चाँडोभन्दा चाँडो सुनुवाइ गर्नुपर्ने बताउनुभयो ।

    सांसद भानुभक्त जोशीले नेपालमा गाँजाको उपयोगका सम्बन्धमा पर्याप्त अनुसन्धान गरेर आवश्यकताका आधारमा उत्पादन गर्न सकेमा औषधिजन्य पदार्थका रूपमा प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पाइने गाँजाको प्रयोग औषधि निर्माण गर्नुका साथै यसको रेसाबाट लुगा बनाउन सकिन्छ । त्यसर्थ यसको विषयमा राम्रो अनुसन्धान गर्न आवश्यक छ ।” रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार