बिहीबार , साउन २४ गते २०८२

नाम्खाको लिमीमा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै

नाम्खाको लिमीमा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै

बिहीबार , साउन २४ २०८२
  • नाम्खाको लिमीमा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै

    हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । बसाइँसराइ गरी तराई जानुका साथै छिमेकीमुलुक चीनको ताक्लाकोटमा काम गर्न जाने याुवा बढेपछि जनशक्तिको अभावका कारण खेतीयोग्य जमिन बाँझिन थालेको हो ।

    images

    तिलगाउँका वडा सदस्य पेन्पातुण्डुप लामाका अनुसार बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढिरहेको छ । उहाँले बस्तीका स्थानीयले छोडेर काठमाडौँ गएपछि यहाँको जमिन बाँझिएको भन्दै केही स्थानीय चीनको ताक्लाकोट गएर काम गर्ने भएकाले गाउँमा खेती हुन छोडेको बताउनुभयो । उहाँका अनुसार तिलगाउँमा मात्र ३० हल जग्गा खेती गर्न छोडिएपछि बाँझिएको छ ।

    जाङगाउँको सबै जग्गा बाँझिएको स्थानीय कुञ्जोक तामाङले बताउनुभयो । “यतिबेला उवाबाली फलेको देखिनुपर्ने जाङगाउँको खेतीयोग्य जमिन सबै बाँझो भएर झारपात मात्र उम्रिएको छ । गाउँमा ७० हलभन्दा बढी खेतीयोग्य जग्गा बाँझो छ”, उहाँले भन्नुभयो ।

    ‎सबैभन्दा बढी घरधुरी रहेको हल्जीगाउँमा पनि जग्गा बाँझिने क्रम बढिरहेको स्थानीय कोनुर्बु तामाङले बताउनुभयो । यसैवर्ष हल्जीगाउँ छोड्नु भएका दुई घरधुरी र अरू ताक्लाकोट काम गर्न गएका स्थानीयको जग्गा सबै बाँझो रहेको उहाँको भनाइ छ । “जग्गाको उत्पादनले छ महिना खाना नपुग्ने भएपछि खेतीपाती छाडेर अन्यत्र काम गर्न जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार हल्जीगाउँमा पहिलो पटक जग्गा बाँझो भएको हो ।

    नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङ यहाँको खेतीयोग्य जमिन बाँझो रहनु भनेको लिमी विस्तारै मानिसविहीन हुँदै जानुको अवस्था सृजना भएको बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घ सरकारले स्थानीयलाई आधारभूत आवश्यकतासहित रोजगारी सृजना गरी गाउँ सुनसान हुनबाट बचाउनुपर्नेमा उहाँले जोड दिनुभयो । लिमीका केही बस्ती मात्र नभएर सिङ्गो वडाका लागि जग्गा बाँझो हुँदै जानु दुःखद् पक्ष भएको उहाँको भनाइ छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ