बिहीबार , साउन २१ गते २०८३

परिक्षा गोप्य राख्ने लोकसेवामा नै विज्ञ र कर्मचारिको सेटिङमा परिक्षा

परिक्षा गोप्य राख्ने लोकसेवामा नै विज्ञ र कर्मचारिको सेटिङमा परिक्षा

एक कर्मचारिको गल्तिले आयोगको साखमाथि नै प्रश्नचिन्ह

images
अखबार दैनिक
शनिबार, भदौ ६ २०७७
  • परिक्षा गोप्य राख्ने लोकसेवामा नै विज्ञ र कर्मचारिको सेटिङमा परिक्षा

    ६ भदौ काठमाडौं : लोकसेवा आयोगको परीक्षामा ‘गोप्य राखिने विज्ञ’ र कर्मचारी नै ‘सेटिङ’मा लाग्ने गरेको पाइएको छ। आयोगले गरेको छानबिनमा आयोगकै विज्ञ र कर्मचारीले सेटिङमा योग्यता, स्वच्छता र निष्पक्षतालाई धज्जी उडाउँदै आफूले चाहेको व्यक्तिलाई पास गराउन लागेको पाइएको छ।

    आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसारउत्तरपुस्तिका सच्याएर छोरीलाई पहिलो नम्बरमा पास गराउने लोकसेवा आयोगका शाखा अधिकृत मीमबहादुर शाहीलाई कारबाही गरिएको छ भने विज्ञमाथि छानबिन भइरहेको छ। उनले विज्ञमाथि आन्तरिक रूपमा कारबाही भइरहेको बताए।

    शाहीलाई ५ वर्षसम्म बढुवा नहुने गरी विभागीय कारबाही गरिएको छ। उनको ग्रेडसमेत रोक्का भएको छ। उनले ५ वर्षसम्म ग्रेड पनि नपाउने भएका छन्। उनी आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखामा कार्यरत थिए।

    छोरी विमला शाहीलाई लोकसेवाबाट सञ्चालन हुने लिखित परीक्षामा आगामी दुई वर्षसम्म सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ। नेपाल वायुसेवा निगमको प्रशासन सेवाको सहायक चौथोको परीक्षामा उत्तरपुस्तिकामा आफूलाई चिनाउने संकेत प्रयोग गरी आयोगले तोकेको सर्तको उल्लंघन गरी परीक्षाको मर्यादा विपरीत काम गरेको पाइएपछि बाबुछोरीलाई आयोगले कारबाही गरेको हो।

    विज्ञापन नम्बर १९–२०/०७५–७६ को प्रशासन सहायक चौथो (खरिदारस्तर)को लिखित परीक्षा २०७६ जेठ ११ मा सञ्चालन भएको थियो। अधिकृत शाहीले वस्तुगत परीक्षामा आउने ५० प्रश्नहरूको सबै उत्तर ‘सी’ मात्रै लेखेर बाहिरिन भनेका थिए। उत्तर पुस्तिका जाँच्ने क्रममा ‘सी’ लाई ‘ए’ ‘बी’ र ‘डी’ बनाएर सच्याउनका लागि उनले त्यसो गरेको खुल्न आएको छ। वस्तुगत परीक्षामा ५० वटै उत्तर मिलेको देखिएपछि आयोगले शंका लागेर छानबिन गर्दा पछि उत्तर सच्याएको प्रमाणित भएको थियो। विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछि सच्याएको प्रमाणित भएसँगै उक्त घटना बाहिर आएको हो।

    लोकसेवाका शाखा अधिकृत शाहीले छोरीलाई उत्तरपुस्तिका सच्याएर पहिलो नम्बरमा पास गराएका थिए। त्यो कुरा थाहा पाउनेबित्तिकै आयोगले ‘एक्सन’ लिएको अध्यक्ष उमेशप्रसाद मैनालीले बताए। ‘छोरी पास गराउने कर्मचारीलाई अहिले विभागीय कारबाही गरिएको छ। अन्य कारबाहीको लागि पनि प्रक्रिया अगाडि बढेको छ’, उनले भने। सहसचिव (प्राविधिक) परीक्षामा पनि गडबड भएको पाइएको छ। विज्ञले नै सेटिङ गरेको पाइएपछि सहसचिवको परीक्षामा रद्द गरी नयाँ परीक्षा गर्ने निर्णय आयोगले गरेको छ।

    परीक्षामा सेटिङ भएको शंका लागेपछि आयोगको विज्ञापन न १७१६७/७६–७७ बाट विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी(सहसचिव), सूचना प्रविधि विज्ञको पदपूर्तिको लागि सञ्चालित लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको पूर्वनिर्धारित अन्तर्वार्ता कार्यक्रम स्थगन गरियो। छानबिन गर्दा आयोगको योग्यता,स्वच्छता र निष्पक्षता तीन कार्य प्रणालीका सिद्धान्तमा संशय देखिएपछि लिखित परीक्षा नै रद्द गरेर नयाँ परीक्षा पछि सञ्चालन गर्ने अवस्थामा आयोग पुग्यो। सहसचिवको यो विज्ञापनमा १० जनाको दरखास्त स्वीकृत भएको थियो। २०७६ पुस १५ र १६ गते सूचना प्रविधिविज्ञका लागि आयोगले लिखित परीक्षा लिएको थियो।

    तीन जना अन्तर्वार्तामा छनोट भएका थिए। असार ३१ गते मौखिक परीक्षाको कार्यक्रम तय गरिएको थियो। अन्तर्वार्ता हुनुअगाबै सेटिङ हुन लागेको देखियो र आयोगले छानबिन अगाडि बढायो। छानबिन गर्दा सेटिङ भएको पाइएपछि साउन २९ को आयोगको बैठकले परीक्षा नै रद्द ग¥यो।पछि दरखास्त दिएका तीनै १० जनाबीच प्रतिस्पर्धा हुने गरी लिखित परीक्षा सञ्चालन गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिए।

    लोकसेवा आयोगका अध्यक्ष मैनालीले विश्वसनीय रहेको संस्थामा सेटिङ गर्नेलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता जनाएका छन। उनले दोषी देखिएका कसैलाई नछोड्ने बताए। ‘म कप्रोमाइज गर्दिनँ,’ उनले भने,‘अधिकृतलाई कारबाही गरिसकेका छौं, शंका लागेको परीक्षा नै खारेज ग¥यौं। हदैसम्मको गल्ती भएको छ।’ उनले सेटिङ गर्ने विज्ञमाथि शंका लागेर छानबिन भइरहेको बताए। उनले लोकसेवाको इतिहासमा आन्तरिक रूपमा पहिलो पटक छानबिन समिति बनाएर कारबाहीको प्रक्रिया अघि बढाएको जानकारी दिए। ‘मैले नै छानबिन गरेर पत्ता लगाएको विषय हो, प्वाल पार्न खोजिएको छ,मैले नै टाल्ने यो प्रयास गरेको हुँ’, मैनालीले भने।

    उनका अनुसार विगतमा कर्मचारीतन्त्रलाई विश्वास गर्दा उनीहरूले नै मनपरी गरेको पनि पाइएको छ।सेटिङमा कर्मचारी र विज्ञ नै हुने गरेको खुलेको छ। लोकसेवामा भएका विकृति हटाउन खोज्दा उल्टो प्रहार हुनु दुःखद् भएको उनले गुनासो गरे। विगतका आयोगले छानबिनको काम नै नगरेको उनको भनाइ छ। ‘पहिला यस्तो छानबिन नै भएको थिएन, अहिले गर्दा यहाँभित्र पनि छिद्र रहेको पाइयो र कारबाही प्रक्रिया पनि थालिएको छ’, मैनालीले भने।

    विगतमा पनि आयोगमा सेटिङ नभएका होइनन्। शिक्षा मन्त्रालयअन्र्तगत शैक्षिक जनशक्ति विकास केन्द्रका तत्कालीन कार्यकारी निर्देशक (हाल सचिव) सूर्यप्रसाद गौतमले आफ्नी पत्नी र पूर्व शिक्षा सचिव रामस्वरूप सिन्हाले आफ्नी छोरीको कपी आफैंले जाँचेर बढी नम्बर दिएका थिए। शिक्षा सेवा, शिक्षा प्रशासन समूहअन्तर्गतको विद्यालय निरीक्षक पदको परीक्षामा उनीहरूले बढी नम्बर दिएका थिए। सिन्हाकी छोरी अन्तिमा कुमारी सिन्हा र गौतमकी पत्नी इन्दिरा ढकाल गौतम लिखित परीक्षाबाट उत्तीर्ण भएको सन्दर्भ छानबिन गर्दा दुवैका आफ्नै नातेदारले उत्तरपुस्तिका परीक्षण गरेको पाइएको भन्दै आयोगले २०६९ असोज २४ मा परीक्षा रद्द गरेको थियो। उत्तरपुस्तिका जाँच गर्ने मात्रै होइन, प्रश्नपत्र बनाउने पनि उनीहरू नै भएको आयोगले जनाएको थियो। त्यतिबेला परीक्षा रद्द गर्ने बाहेकको कुनै कारबाही भएको थिएन।

    साभार : अन्नपुर्ण पोष्ट बाट 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार