राष्ट्रिय समाचार समिति (रासस)कर्मी सुशील दर्नाललाई ‘भैरव रिसाल मिडिया लेखनवृत्ति’ प्रदान गरिएको छ । वातावरण र जनस्वास्थ्य सस्था (एन्फो)ले आफ्नो २४औँ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दर्नाललाई उक्त लेखनवृत्ति प्रदान गरेको हो ।
एन्फोका अध्यक्ष डा राजेश जोशी र खानेपानी मन्त्रालयका सह–सचिव मिना श्रेष्ठले लेखनवृत्ति प्रदान गर्नुभयो । विगत १६ वर्षदेखि पत्रकारितामा सक्रिय पत्रकार दर्नालले यसअघि बङ्गलादेशबाट ‘लिडरशिप अवार्ड–२०७६’, नेपाल सरकारको ‘युवा पत्रकारिता पुरस्कार, २०८१’ प्राप्त गरिसक्नुभएको छ ।
साथै उहाँले नेपाल सरकार ‘केन्द्रीय बालकल्याण समिति’ र ‘नेपाल पत्रकार महासङ्घ’ ले संयुक्त रुपमा प्रदान गरेको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७४’, रिपोटर्स क्लब नेपालले प्रदान गरेको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार, २०७४’ र प्रेस काउन्सिल नेपालले प्रदान गरेको ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, २०७३’ प्राप्त गरिसक्नु भएको छ ।
उहाँलाई पत्रकारिताको माध्यमबाट मानव बेचविखन तथा ओसारपसारविरुद्धको अभियानमा जनजागरण र सचेतना फैलाउने कार्यमा योगदान पु¥याए वापत नेपाल सरकार, महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विंस २०७६ सालमा सम्मान गरेको थियो । त्यसैगरी शहिदको सम्मान, प्रबर्द्धन तथा शहिदले देखाएको बाटोमा अग्रसर हुन पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै विंस २०६९ मा सम्मान गरेको थियो । सिमान्तकृत समुदायबारे कलम चलाउने पत्रकार दर्नालले २०७७ र २०८१ सालमा ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ र ‘माया पनि बिटुलो’ नामक पुस्तक लेख्नुभएको छ । रासस