शुक्रबार, साउन २२ गते २०८३

मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदै

मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदै

अखबार दैनिक
शुक्रबार, असोज २४ २०८२
  • मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदै

    महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात् मिथिलानीले आज पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाइरहेको महोत्तरी सदरमुकाम जलेश्वर नपा–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी पण्डित उपेन्द्र पाठकले बताए । 

    मिथिलानीहरु आजको दिनभरि निराहार उपवास बसेर राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गर्नेछन् ।

    आज बिहानैदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिले चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनःपतिको पूजा गर्दै व्रतालु महिला पूजापश्चात् पतिको हातबाट सबैभन्दा पहिले पानी (जल) ग्रहण गर्दछ भने त्यसपछि पतिलाई प्रसाद र पकवान खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गर्ने चलन रहेको जलेश्वर–८ का पण्डित गोविन्द झाले बताए ।

    यसपर्वमा चन्द्रमा पूजा गरिने तथा चन्द्रमाकै रुपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ । यस पर्वमा मिथिलानी राति रङ्गीचङ्गी नयाँनयाँ वस्त्र, चुरा, पोते, विभिन्न गर गहना, सिउँदोमा सिन्दुरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना (जालीसहितको आँटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमा दर्शन गर्दछन् भने चन्द्रमाको दर्शन गरेपछि पुनःसोही चाल्नामा चन्द्रमाको ठाउँमा आ–आफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्दछन् ।

    चाल्नाबाट चन्द्रमालाई हेर्नु र पुनःत्यही चाल्नाबाट पतिलाई हेरेर व्रत सम्पन्न गर्नु यसपर्वको प्रमुख प्रक्रिया हो । त्यसपछि चन्द्रमा र पति दुवैको विशेष पूजाअर्चन गर्दै मिथिलानीहरु यसपर्वलाई समापन गर्दछन् । 

    करवाचौथ पर्व तराई–मधेसको महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ र भारतको विहार राज्यको मधुवनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार