काठमाडौं । नेपाल क्रिकेट लिग (एनपीएल) को गत संस्करणका विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्व क्रिकेटर शिवनारायण चन्द्रपाललाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बोल्ट्स व्यवस्थापनले उनको नेतृत्वमा टोलीले आफ्नो प्रदर्शन र सफलता निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।
१६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका चन्द्रपालले २१ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट जीवनमा २० हजार भन्दा बढी रन बनाएका छन् । उनी विश्व क्रिकेटका स्थायी र धैर्यशील ब्याट्सम्यानमध्ये एक मानिन्छन् ।
चन्द्रपालले क्यारेबियन प्रिमियर लिग (सिपिएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग (बिपिएल), च्याम्पियन्स लिग टी–२०, र इन्डियन प्रिमियर लिग (आईपिएल) मा समेत खेलिसकेका छन् । उनले काउन्टी क्रिकेटमा पनि लामो समय बिताएका थिए ।
सन् २०२२ मा ५१ वर्षको उमेरमा उनले सिपिएल फ्रेन्चाइज जमैका तलवाहजको प्रशिक्षकका रूपमा आफ्नो नयाँ यात्रा सुरु गरेका थिए । त्यही वर्ष उनी अमेरिकी महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका थिए ।
‘चन्द्रपाल जस्ता दिग्गज क्रिकेटरको आगमनले टोलीमा नयाँ ऊर्जा, दृष्टि र रणनीति थपिने विश्वास लिइएको र उनको अनुभवले जनकपुर बोल्ट्सलाई पुनः विजयी यात्रामा अगाडि बढाउने बिश्वास लिइएको जनकपुर बोल्ट्सले जनाएको छ ।’
यस्तै, क्लबले गत संस्करणमा टोलीलाई च्याम्पियन बनाएका प्रशिक्षक पुबुदु दासानायकेप्रति आभार व्यक्त गरेको छ । दासानायके हाल अमेरिकी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन् ।