गएको भदौ २३ र २४ गतेको घटनाको बारेमा छानबिन गर्न बनेको जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ । आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
आयोगका प्रवक्ता एवम् सदस्य विज्ञानराज शर्माका अनुसार जाँचबुझ आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते को–को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो । पत्र आएको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले त्यसको विवरण उपलब्ध गराएको थिएन । त्यसपछि आयोगले पत्र लेखेर विवरणबारे सोध्दा जबाफमा आइजीपीदेखि जवानसम्म खटिएको भनिएको थियो ।
प्रहरीले विस्तृत विवरण नपठाएपछि आइतवार जाँचबुझ आयोगले आइजीपी चन्द्रकुबेर खापुङकै नाममा २४ घन्टाभित्र जबाफ पठाउन भनेर प्रधान कार्यालयमा पत्र पठाएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको विवरण काठमाण्डौ उपत्यका प्रहरी कार्यालयसँग हुने र त्यहाँबाट विवरण उपलब्ध गराउन समय लाग्ने भनेर जबाफ फर्काएको थियो ।
प्रधान कार्यालयले नै उपलब्ध गराउनुपर्ने विवरण नदिएको भन्दै जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक खापुङसँग स्पष्टीकरण सोधेको हो ।
