बिहीबार , साउन २१ गते २०८३

विपन्न चेपाङ समुदायलाई न्याना कपडा वितरण

विपन्न चेपाङ समुदायलाई न्याना कपडा वितरण

अखबार दैनिक
आइतबार, कात्तिक २३ २०८२
  • विपन्न चेपाङ समुदायलाई न्याना कपडा वितरण

    व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । सामाजिक अभियानकर्मी सुदीप गफ्फारको नेतृत्वमा विपन्न चेपाङ समुदायलाई शनिबार न्यानो कपडा वितरण गरिएको हो ।

    गफ्फारले सञ्चालन गर्नुभएको कपडा बैंकमार्फत यहाँका ४२ घरपरिवारका चेपाङ समुदायलाई रु २५ हजार बराबरको कपडा सहयोग गरिएको छ । न्यानो कपडा अभियानअन्तर्गत तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट नयाँ कपडा र शुभेच्छुकबाट प्राप्त लगाउन योग्य कपडा मिलाएर विपन्न समुदायलाई कपडा सहयोग गरिएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अन्य ठाउँका अतिआवश्यकता भएका समुदायलाई कपडा बैंकमार्फत न्यानो कपडा सहयोग गर्नेछौँ ।” यहाँका बालबालिकालाई शैक्षिक सामग्री र महिलाका लागि सेनेटरी प्याड उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    व्यास–११ का वडा सदस्य गोकुल दुराले भौगोलिक हिसाबले विकट र अल्पसङ्ख्यक चेपाङ समुदायका लागि गरिएको सहयोग सराहनीय रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चिसो मौसममा चेपाङ समुदायलाई सहयोगको आवश्यकता रहेको महसुस गरेर गफ्फारले जुन सहयोग गर्नुभएको छ, यो निकै सराहनीय छ ।”

    राम्चे ओडोरे टोल विकास संस्थाका अध्यक्ष रत्नबहादुर चेपाङले राज्यको नजरबाट पछाडि परेको चेपाङ समुदायलाई जाडोको मौसममा न्यानो कपडा सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “चेपाङ समुदायमा निकै दुःख छ, गाह्रो छ, सरकारको नजर पनि चेपाङ समुदायलाई कम पर्छ ।”

    स्थानीय चण्डिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले सामाजिक अभियानकर्मी सुदीप गफ्फारले समाजलाई सकारात्मक सन्देश दिने किसिमका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

    सदरमुकाम दमौलीबाट करिब १२ किलोमिटर दूरीमा अवस्थित चेपाङ बस्तीमा ४२ घरधुरी चेपाङ समुदाय बसोबास गर्दै आएका छन् । आर्थिक रुपमा विपन्न चेपाङ समुदायलाई सहयोगको खाँचो रहेको चेपाङ सङ्घका अध्यक्ष रामबहादुर चेपाङले बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार