बिहीबार , साउन २१ गते २०८३

कागतीखेतीबाट तीन महिनामा नौ लाख आम्दानी

कागतीखेतीबाट तीन महिनामा नौ लाख आम्दानी

अखबार दैनिक
बिहीबार , कात्तिक २७ २०८२
  • कागतीखेतीबाट तीन महिनामा नौ लाख आम्दानी

    कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिनुभएको छ । पोखरा महानगरपालिका–३१ खनास्वाराका टुकाराम लामिछाने कागतीखेतीबाट तीन महिनामा झण्डै रु नौ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बन्नुभएको हो ।

    एलसी अर्गानिक कृषि फर्म दर्ता गरेर आठ वर्षअघि भिरालो २६ रोपनी जग्गामा लगाएका ५०० सोना जातका कागतीका बिरुवाले चार वर्षको अवधिदेखि निरन्तर उत्पादन दिन थालेको र यस वर्षको भदौ, असोज र कात्तिकमा मात्र कागती बिक्रीबाट रु नौ लाख आम्दानी गरेको कृषक लामिछानेले जानकारी दिनुभयो ।

    कृषि ज्ञान केन्द्र स्याङ्जाबाट उपलब्ध गराइएका २०० ठूलो लेमनका बिरुवाले राम्रो उत्पादन दिए पनि बजारमा बिक्री नभएपछि सबै बोट हटाएर सो स्थानमा सोना जातका बिरुवा रोपेको बताउँदै उहाँले भन्नुभयो, “उत्पादन भएको कागती बिक्री हुँदैन कि भन्नु पर्दैन, यतिखेर बजारमा कागती प्रतिकिलो रु २०० देखि २५० का दरले बिक्री हुने गरेको छ ।”

    उमेरले ६५ काटेका कृषक लामिछाने परम्परागत खेती प्रणाली अपनाउँदा बाँदर र अन्य जङ्गली जनावरले नष्ट गर्न थालेपछि विकल्पका रुपमा सुरु गरेको व्यावसायिक कागतीखेती पछिल्लो समय मुख्य आम्दानीको श्रोत बनेको बताउनुहुन्छ ।

    बेगनासतालको जलाधार क्षेत्रमा पर्ने सो स्थानमा लिप्टिङ प्रविधिमार्फत सिँचाइको राम्रो प्रबन्ध मिलाइएका कारण कागतीका बोटमा बाह्रै महिना फल लाग्ने गरेको बताउँदै उहाँले वार्षिकरुपमा रु १५ लाखभन्दा बढी आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

    कागतीको एउटै बोटमा वर्षमा एक क्वीन्टलसम्म फल्ने गरेकामा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो “यो तीन महिनाको अवधिमा दैनिक ४० देखि ५० किलो उत्पादन भएको थियो, कागतीको बोटमा कुनै पनि विषाधि प्रयोग गर्नुपरेको छैन, बजारमा अर्गानिक उत्पादनको महत्व बढेको छ ।”

    पछिल्लो समय तातोपानी, चिया र खानामा कागतीको अत्याधिक प्रयोग हुने हँुदा बजारमा माग बढेको छ । कास्कीमै पहिलो व्यावसायिक कागतीखेती सुरु गरेको दाबी गर्ने लामिछानेले भन्नुभयो, “राज्यकातर्पmबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागतीलगायत तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।”

    कागती अन्तरबालीका रुपमा तरुल, अकबरे खुर्सानी, टिमुर, अमला, ओल, एभोकाडो, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केरा, मेकानियानट जस्ता विभिन्न जातका फलफुलका बोटबिरुवा फष्टाएका छन् । परिक्षणका लागि लगाएको एउटा स्याउको बोटमा ५०–६० वटा फल लागेको भए पनि सबै बाँदरले खाएको उहाँले बताउनुभयो ।

    “यदी सरकारले किसानको फर्मबाट नै उत्पादित कागतीलगायत कृषिजन्य उत्पादन खरिद गर्ने व्यवस्था गरिदिए कृषक अझ बढी उत्साहित हुने थिए”, कृषक लामिछानेले भन्नुभयो, “उत्पादित कागती पोखराका बजारमा सञ्चालित रेष्टुरेन्ट तथा तरकारी पसलमा बिक्री गर्ने गरेको छु, कागती पु¥याउने र पैसा उठाउने समय फर्ममा लगाउन पाउने हो भने आम्दानी निश्चितरुपमा बढ्ने थियो ।”

    कागतीको बोटबाट टिपेको फल बजारमा बिक्री गर्ने र पाकेर झरेका फल सङ्कलन गरेर पेलेर अमिलो उत्पादन गरेर बिक्री गरेर थप आम्दानी गर्दै आएको जनाउँदै उहाँले गतसाल ४८ माना अमिलो बिक्रीबाट रु ७२ हजार आम्दानी गरेको उहाँले बताउनुभयो । उहाँले पकाएको अमिलो प्रतिमाना रु एक हजार ५०० र काचो रस प्रतिमाना रु ५०० का दरले बिक्री गर्दै आउनुभएको छ ।

    साथै उहाँले अमिलो बनाएर निस्केको कागतीको छोक्रा, वनमारा, असुरो, भेली लगायतका विभिन्न बनस्पति सङ्कलन गरेर दुई हजार लिटरको हिल ट्याङ्कीमा जैविक मल उत्पादन गर्नुभएको छ । उत्पादिन मल पाइपमार्पmत प्रत्येक बोटमा राख्ने व्यवस्थासमेत मिलाइएको उहाँको भनाइ छ ।

    मुलुकमा वन क्षेत्रको विस्तारसँगै बाँदर र जङ्गली जनावरको आतङ्कले धेरै किसान खेतीबारी छाड्न बाध्य भएको वर्तमान अवस्थामा लामिछानेको कागतीखेतीले नयाँ सम्भावना र प्रेरणा दिएको पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार