जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याइएको हो ।
सङ्घले अफ्नै उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालन गरेको हो । रु १२ लाखको लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको मार्टमा झुवानीस्थित आफ्नै उद्योगबाट उत्पादित समग्रीको बिक्री बितरण गर्दै आएको छ । सङ्घका अध्यक्ष किसोर वगालेकाअनुसार सङ्घले यहाँ घ्यू, नौनी, पनिर, खुवा, दूध, दहीलगायतका उत्पादन सुपथ मूल्यमा बिक्री गर्दै आएको छ ।
जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसको बजारीकरणका लागि सङ्घले आफ्नै लगानीमा रत्ननगर नगरपालिका–५ मा उद्योग स्थापना गरी दूग्धजन्य वस्तुको उत्पादनसुरु गरेको हो । त्यहाँ उत्पादित सामग्रीलाई बजारीकरणका लागि मार्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा उत्पादित दूध र दूग्धजन्य वस्तुको प्रवर्द्धनका लागि सङ्घले काम अघि वढाएको छ ।”
उद्योगलाई बिक्री गरिएको दूधको भुक्तानी समयमा नपाउँदा किसान र सहकारीले समस्या झेल्दै आएका छन् । यहाँका किसानले दूग्ध विकास संस्थान र निजी क्षेत्रको गरी रु ७० करोड बढी भुक्तानी पाउन सकेका छैनन् । रासस
