आइतबार, भदौ १४ गते २०८३

जनकपुरसँग चितवन पराजित

जनकपुरसँग चितवन पराजित

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०८२
  • जनकपुरसँग चितवन पराजित

    लगातार चार खेलमा बेहोरेको हारको शृङ्खला तोड्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा पहिलो र सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।

    चितवनले प्रस्तुत गरेको १७७ रनको चुनौतीपूर्ण लक्ष्य जनकपुर बोल्ट्सले १५ बल बाँकी छँदै १७ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। विशाल लक्ष्य पछ्याएको जनकपुरको जितको आधार ओपनर माज सदाकत र अनिल साहको उत्कृष्ट ब्याटिङ बन्यो। विष्फोटक सुरुवात दिलाएका माजले मात्र ३० बलमा ६ चौका र ४ छक्काको मद्दतले ६३ रन बनाए। उनले बलिङतर्फ पनि १ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे

    तेस्रो नम्बरमा आएका अनिलले जिम्मेवारीपूर्ण पारी खेल्दै ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रन को योगदान दिए। यी दुईबिच दोस्रो विकेटका लागि ७९ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। माज र अनिल आउट भएपछि अन्त्यमा आदित्य महताले मात्र ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित १८ रन बनाएर टोलीलाई सहज जित दिलाए। सञ्जय कृष्णमूर्ति ५ रनमा अविजित रहे।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। चितवनका लागि ओपनरद्वय दवीद मलान र अर्जुन साउद ले पहिलो विकेटका लागि १ सय १२ रनको शतकीय साझेदारी गरेका थिए । दवीद मलानले ५४ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन बनाए। कप्तान कुशल मल्लले अन्त्यमा १४ बलमा ३० रनको क्यामियो इनिङ खेले पनि बलरहरूले उक्त स्कोर रक्षा गर्न सकेनन्।

    जनकपुरका बलरहरूले सुरुवातमा विकेट लिन नसके पनि मध्यक्रममा रन रोक्ने प्रयास गरेका थिए। माज सदाकत, अनिल साह, रुपेश सिंह र जान निकोल लोफ्टी–इटनले समान १–१ विकेट लिए। चितवनका लागि सोहिल तनभिर, कमल ऐरी र अमर रौटेलाले १–१ विकेट लिए पनि जनकपुरको आक्रामक ब्याटिङसामु उनीहरू महँगो साबित भए। यो जितसँगै जनकपुर बोल्ट्सले प्रतियोगितामा पहिलो २ अंक जोड्दै अंक तालिकामा खाता खोलेको छ। यसअघि लगातार ४ खेल हारेको जनकपुर पुछारमा थियो। हारपछि चितवन राइनोज भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंकमा सीमित भएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ