बिहीबार , साउन २१ गते २०८३

गोरखा र लमजुङबासीले अब यातायातसम्बन्धी कामलाई पोखरा धाउन नपर्ने

गोरखा र लमजुङबासीले अब यातायातसम्बन्धी कामलाई पोखरा धाउन नपर्ने

अखबार दैनिक
मंगलबार, असोज ६ २०७७
  • गोरखा र लमजुङबासीले अब यातायातसम्बन्धी कामलाई पोखरा धाउन नपर्ने

    ६ असोज,  गोरखा — गोरखा र लमजुङका बासिन्दा यातायातसम्बन्धी काम लिएर अब प्रदेश राजधानी पोखरा धाउन नपर्ने बाध्यता हटेको  छ । सवारीको ब्लुबुक नवीकरण, जाँचपास, रुट परमिटलगायत सेवा जिल्लाबाटै दिन थालिएको छ ।

     गोरखा र लमजुङका बासिन्दालाई यसअघि यातायातसम्बन्धी कामका लागि पोखरा जानुपर्ने बाध्यता थियो । पछिल्लो समय तनहुँको डुम्रेमा यातायात कार्यालय सञ्चालनमा आए पनि सेवा प्रभावकारी नभएको स्थानीयले गुनासो गर्दै आएका थिए ।

    प्रदेश सरकारले दुवै जिल्लाका पूर्वाधार विकास कार्यालयमार्फत आइतबारदेखि यातायात सेवा उपलब्ध गराउन थालेको हो । लमजुङका पहिलो सेवाग्राही यज्ञनारायण श्रेष्ठले पहिले पोखरा गएर सवारीको ब्लुबुक नवीकरण गर्न जाँदा–आउँदा र बास बस्नुपर्दा ५/६ हजार खर्च हुने गरेको बताए । ‘अब घरनजिकै कार्यालय छ । कस्तो सजिलो भयो !,’ उनले भने ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार आफ्नो कार्यालयको एक्सन रुमबाट ‘क्लिक’ गरी पूर्वाधार विकास कार्यालयको यातायात शाखामा आएका सेवाग्राहीको ब्लुबुक नवीकरण रसिद प्रिन्ट गरे । उक्त रसिद कार्यालयप्रमुख सुमन गिरीले सेवाग्राही श्रेष्ठलाई हस्तान्तरण गरे । ‘हामी कार्यालयमा मेकानिकल सुपरभाइजर प्राविधिकको छिट्टै पदपूर्ति गर्छौं । कर्मचारीको पदपूर्तिपछि नयाँ सवारीको दर्ता पनि जिल्लाबाटै हुन्छ,’ उनले भने ।

    पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारीले विकट क्षेत्रका नागरिकले आफ्नै जिल्लाबाट यातायातसम्बन्धी सेवा पाउने भएपछि समय र खर्च जोगिने बताए । मनाङबासीले समेत लमजुङबाटै सेवा लिन सक्ने उनको भनाइ छ । पूर्वाधार विकास कार्यालयबाटै ब्लुबुक नवीकरण, सवारी साधन कर संकलन, सवारी जाँचपास, रुट परमिट नवीकरण, सवारी आयकर र पटके रुट परमिटसम्बन्धी सेवा उपलब्ध हुनेछन् ।

    भर्चुअल कार्यक्रमबाट सेवा सुरु गर्दै मुख्यमन्त्री गुरुङले जिल्लाबाटै काम हुँदा नागरिकमा संघीयता आएको अनुभूति हुने विश्वास व्यक्त गरे । ‘प्रदेश सरकार कहाँ छ भन्नेलाई हामीले प्रदेश सरकारको अनुभूति गराएका छौं,’ उनले भने, ‘प्रदेश सरकार पूर्वाधार विकास कार्यालय, सिँचाइ कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय, खानेपानी कार्यालयमा छ भनेका छौं ।’ भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले लमजुङ र गोरखामा सेवा विस्तार गर्दै लगिने र नवलपुरमा लाइसेन्स, नामसारीलगायत यातायात व्यवस्थाका सबै सेवा उपलब्ध गराइने बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार