बिहीबार , साउन २१ गते २०८३

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

अखबार दैनिक
सोमबार, पुस ७ २०८२
  • अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

    अमेरिकाका विभिन्न सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीय किशोरी आर्या खनाल प्रथम भएकी छिन् भने नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजयी भएकी छन् ।

    नेपाली जातिहरुको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको ह्यारिसवर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टनका प्रतिभाहरुले भाग लिएका थिए । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोनमा भेला भएका यी प्रतिभाहरुबीच यही डिसेम्बर २० र २१ मा प्रतियोगिता आयोजना भएको थियो ।

    प्रस्तुतिमा गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो भएका थिए भने नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाई दोस्रो भएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरी कोलम्बसकै कुञ्जन सुवेदी गायनतर्फ तेस्रो भइन भने ह्यारिसवर्गकी सामन्था क्षेत्री नृत्यतर्फ तेस्रो पुरस्कार जित्न सफल भइन ।

    अमेरिकामै जन्मे हुर्केका नेपाली जातिका बालबालिका र किशोर किशोरीहरुलाई नेपाली कला संस्कृतितर्फ आकर्षित गर्ने चुनौतीपूर्ण कार्य विगत १० वर्षदेखि निरन्तर गरिहेको बताउँदै फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भुटानबाट लखेटिनु पर्दा नछाडेको नेपाली संस्कृतिलाई पुस्तान्तरणको अभियानमा सबैको साथको अपेक्षा गर्नुभयो ।

    विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै उहाँले नेपाली जातिको पहिचान लिएर गर्वका साथ जीवन जीउन सिकाउन फाउण्डेसनले सात सहरहरुमा सातवटा नेपाली नृत्य र सङ्गीतका कक्षाहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो । यी कक्षाहरुमा एक हजार ३०० नेपाली मूलका बालबालिका, किशोर किशोरीहरु अध्ययनरत छन् ।

    यी विद्यार्थीहरुबाट विद्यालयमै गइ अडिसन गराइ छानेर ल्याइएका १०–१० जनाका विद्यार्थीका समूहबीच गराइएको नृत्य प्रतियोगितामा पेन्सिलभेनियाको ल्यान्काष्टर समूह प्रथम भयो भने पेन्सिलभेनियाकै ह्यारिसवर्ग समूह दोस्रो र ओहायोको कोलम्बस समूह तेस्रो भएको छ ।

    प्रतिस्पर्धामा एकल गायन, एकल नृत्य र समूह नृत्यमा प्रथम हुनेले तीन हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो हुनेले दुई हजार र तेस्रो हुनेले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । गायन प्रतियागिताको निर्णायकम अञ्जु पन्त, सुजता वर्मा र गायक अर्जुन रसाइली हुनुहुन्थ्यो भने नृत्यतर्फका निर्णायकमा दिलीप रायमाझी, सारङ्गा श्रेष्ठ र नृत्यविद् आरती शर्मा हुनुहुन्थ्यो ।

    कार्यक्रम संयोजक चन्द्र पराजुलीका अनुसार गायनतर्फ २२ जना प्रतिस्पर्धी र नृत्यतर्फ ३४ जना सहभागी थिए । सामूहिक नृत्यतर्फ छ वटा समूहले प्रतिस्पर्धा गरेका थिए । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार