माघ ९ काठमाडौ । सँधै र सबैजसो दौड प्रतियोगिता तथा कार्यक्रममा स्वस्थ्य र समयले साथ दिँदासम्म कुनै पनि प्रतियोगिता छुटाउने गरेको छैन मैले । यस्तै कार्यक्रम अन्तर्गत Himalayan Running Club को प्रायोजनमा राष्ट्रिय एकता दिवसको दिन आयोजित “राष्ट्रिय टोपी दिवस दौड २०८२” प्रतियोगितामा मैले पनि सहभागिता जनाएको थिएँ । प्राय: जसो हाम्रो मुलुकमा यस्ता प्रतियोगिताहरू शनिबार विदाका दिनमा हुने गर्छन् । तर २०८२ को “राष्ट्रिय एकता दिवस” आइतबार परेको भएपनि सरकारी विदाका कारण सोही दिन पाटन दरवार क्षेत्रबाट सुरू भएर ललितपुरको विभिन्न स्थान हुँदै सोही स्थानमा नै गएर समाप्त भएको थियो ।
यात्रामा सहभागी हामी तीन – म, मेरी श्रीमती विष्णु अधिकारी र शोभा महर्जनज्यू
८ कि. मी. र ४.५ कि. मी. गरी दुई विधामा प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा दुवै विधामा हजारौंको संख्यामा प्रतियोगीहरूको उपस्थिति थियो । सो प्रतियोगितामा मैले ८ कि. मी. मा सहभागिता जनाएको थिएँ । बिहान ७ बजेबाट सुरू हुने भनिएको भए पनि ७:३० बजेबाट प्रतियोगिता सुरू भएको थियो । म केही समयदेखि Achilles Tendon बाट ग्रसित भएकाले मलाई उक्त दौड सम्पन्न गर्न ४० मिनेट लागेको थियो ।
सोहि दिन बिहान ९ बजेबाट अर्को पनि कार्यक्रम भएकाले म हतार- हतारमा नै कार्यक्रमको समापन समारोह सुरू हुनु अगावै आयोजना स्थलबाट अर्को कार्यक्रमतर्फ लागें । उक्त कार्यक्रमा प्रायोजकहरूले दुवै विधाका प्रतियोगिहरूलाई लक्कि ड्रमार्फत उपहारहरूको व्यवस्था गरिएको थियो । त्यसै प्रतियोगिता सबैभन्दा ठूलो प्रायोजन बुद्ध एअरको तर्फबाट प्रायोजित भएको थियो ।
बुद्ध एअरले दुवै विधाका १/१ जना प्रतियोगीलाई काठमाण्डौंबाट माउण्टेन फ्लाईटको टिकटको प्रायोजन गरेको थियो । म पनि भाग्यमानी नै रहेछु जसले एउटा विधाको टिकटको विजयता बन्न सफल भएँ भने अर्कोमा शोभा महर्जनज्यू हुनुहुन्थ्यो । मेरो अनुपस्थितिमा मेरो उपहार भाइ विषभ राजभण्डारीज्यूले ग्रहण गरिदिनु भएको थियो ।
विहान ६:३० बजेबाट सुरूहुने भनिएको उक्त माउण्टेन फ्लाइट केही समय ढिला भए पनि १ घण्टाको हुने रहेछ । उक्त उडानमा म, मेरी श्रीमती र शोभा महर्जनज्यू गरी हाम्रो समूहमा हामी तीन जना थियौं । नेपालका पूर्वतर्फका प्रसिद्ध ३ हिमश्रृङ्खला (लाङ्टाङ्, रोल्वालिङ् र महालङ्गुर हिमश्रृङ्खला) मा रहेका सम्पूर्ण विश्वप्रसिद्ध हिम चुचुराहरूको दृष्यावलोकन गराउँदै सुरुमा उत्तरतर्फ र बाँकी आधा समय जहाजलाई घुमाएर दक्षिणतर्फबाट उडान भर्ने रहेछ ।
हाम्रो व्यक्तिगत अनुभवमा हिमालको दृष्य सुरूमा उत्तर तर्फबाटभन्दा पछिल्लो समय दक्षिणतर्फबाट फर्कंदा झनै सफा र सुन्दर देखिएको महसुस गरियो । विश्व तापमान बढेको छ र अँझै बढ्छभन्दा ती हिमश्रृङ्खलाहरू देख्दा कत्ति पनि अत्युक्ति रहेन । हामीले लगभग ६०/७० प्रतिशत हिमश्रृङ्खलाहरू काला पत्थरमा परिणत भएको आफ्नै खुला आँखाले प्रत्यक्ष अवलोकन गर्यौं । सायद हुनसक्ला हामी अवलोकन गर्नकालागि गएको समय नै उचित थिएन कि ?
विमान परिचारीकाले छेउमा आएर यहाँबाट (लाङ्टाङ् लिरूङ् हिमाल) सुरू भएर गौरीशंकर, पुमोरी, नुप्त्से, सगरमाथा, ल्होत्से, आमा-दाम्बला हुँदै मकालुको दृष्यावलोकन गराएर सोही बाटो हुँदै अर्को तर्फ रहनुहुने यात्रुलाई पुन: सोही हिम चुचुराहरूको अवलोकन गराउँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउनेछ भनेर जानकारी गराइदिनुभयो ।
हामीले पनि सक्दो आँखा लगाएर विश्व मानचित्रमा रहन सफल ती हिम चुचुराहरूको अवलोकन गर्दै, धेरै जसोलाई क्यामरामा कैदगर्दै उडानको मज्जा लिइरहेका थियौं ।
एक समय परिचारिका मेरो नजिक आएर अहो कति राम्रो र स्पष्ट फोटो लिनुभयो तपाईंले भनेर भन्दै हुनुहुन्थ्यो, मैले पनि ठट्यौली पाराले यथार्थ नै बताएँ “म दौडेर त यहीं यसैको लागि आएको हो” भनेर भनें के-कति बुझ्नुभयो मलाई थाहा भएन । अन्य ३/४ यात्रुहरूले मसँग आफ्नो नम्बर दिएर मेरोमा भएका केही राम्रा फोटोहरू माग्नुभयो, पछि वहाँहरूलाई केही राम्रा फोटोहरू पठादिएको छु ।
सबैको राम्रै प्रतिकृया पनि पाएँ र मलाई आफ्नो आजको यो यात्रा भन्नैपर्दा ज्यादै नै अविश्मरणीय नै रहेकाले जानिनजानि शब्दहरू र चित्रहरूमा चित्रण गर्न मन लागेर चित्रण गर्ने कोसिस गरेको हूँ । अन्त्यमा सम्पूर्ण यात्रुहरूलाई उक्त यात्राको स्मरण गराउने प्रमाण–पत्र पनि दिइने रहेछ ।

अन्त्यमा यो सम्पूर्ण दौड प्रतियोगिताको आयोजना गरेर यो सुवर्ण अवसरको मौका हासिल गर्नसक्ने बनाइदिनुहुने आयोजक Himalayan Running Club, आयोजक साथीहरू सहदेव व्यञ्जनकारज्यू, राजेश महर्जनज्यू लगायत अन्य आयोजक साथीहरू तथा स्व:स्फुर्त प्रतियोगितामा भाग लिएर साथ दिने साथीहरूमा पुन: आभार प्रकट गर्न चाहन्छु ।
लेखक : कुमार अधिकारी

प्रतिक्रिया दिनुहोस