१७ असोज काठमाण्डौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ।
त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तिमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष पेस गरेको हो। त्यसबारे ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठक समेत भएको छ।
कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाई भेटका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताए।
कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गरे।
तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ।
फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो। ‘नेपालको जलविद्युतमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ’, मन्त्री पुनले भने, ‘उहाँहरु आउनुभएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानूनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौं।’
राजदूत बडले आफ्नो नेपाल बसाई सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस