शुक्रबार, साउन २२ गते २०८३

काभ्रेमा छैनन् दलित उम्मेदवार

काभ्रेमा छैनन् दलित उम्मेदवार

अखबार दैनिक
सोमबार, माघ २६ २०८२
  • काभ्रेमा छैनन् दलित उम्मेदवार

    काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा काभ्रेपलाञ्चोकको क्षेत्र नं १ मा राजनीतिक दलका र स्वतन्त्र नयाँ उम्मेदबारबीच रोचक  प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा १५ दल र तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

    यस निर्वाचन क्षेत्रमा विशेषगरी ठूला दल नेपाली कांग्रेस,  एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यस क्षेत्रमा एमालेका अमित लामा, कांग्रेसका गुणराज मोक्तान, रास्वपाबाट मधुकुमार चौलागाईं र नेकपाका दिननाथ गौतमले उम्मेदवारी दिएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

    यस क्षेत्रमा गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङ एमालेका केन्द्रीय सदस्य रेशम लामालाई तीन हजार ९६४ मतले पछिपार्दै ३४ हजार ४१२ मत प्राप्त गरी विजयी भएका थिए ।  

    एमालेका उम्मेदवार लामा पार्टीका केन्द्रीय सदस्य छन्, भने कांग्रेसका उम्मेदवार मोक्तान पार्टीको जिल्ला सचिव हुन् । यस्तै रास्वपाका चौलागाईँ कानुन व्यवसायी तथा नेकपाका उम्मेदवार गौतम चौंँरीदेउराली गाउँपालिकाको पूर्व अध्यक्ष हुन् । ठूला दलका यी उम्मेदवार पनि प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार हुन् । यस क्षेत्रमा ‘अन्य’ समूहबाट एक जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

    गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा यहाँको क्षेत्र नं १ मा समानुपातिकतर्फ एमाले २४ हजार ७९, कांग्रेस २१ हजार ७५५, तत्कालीन माओवादी केन्द्र १७ हजार ३३५, रास्वपा नौ हजार ७९४, राप्रपा दुई हजार ४२९ र तत्कालीन एकीकृत समाजवादीले एक हजार ९५५ मत प्राप्त गरेका थिए । 

    आसन्न निर्वाचनमा काभ्रेको दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका ४२ उम्मेदवारकै उम्मेदवारी कायम भएको छ । क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यसपटक पनि दलित उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छैनन् । यस्तै जनजाति तर्फबाट २५ जना उम्मेदवारी परेको जनाइएको छ । 

    यस्तै निर्वाचन क्षेत्र नं २ मा भने १६ दल, आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । यसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष र ५९ हजार ११० महिला र दुई जना अन्य रहेका हुन् । कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार