काठमाडौं । लोकप्रिय हास्य कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन’ आफ्नो ४५औँ भागमा पुग्दा कार्यक्रमका चर्चित स्टार कमेडियनहरू अमेरिका भ्रमणमा व्यस्त छन्। यही कारणले हिजो प्रशारण भएको एपिसोडमा सुमन, मेक्सम, भरत र कैलाश देखिन सकेनन्।
स्टार कलाकारहरू नदेखिँदा दर्शकहरू कार्यक्रममा कमी आउने हो कि भन्ने अड्कल काटिरहेका थिए। तर यस साता सुबोध, प्रभात, पवन, कर्मा, प्रेम, निश्चल र सन्तोषको सशक्त प्रस्तुतिले कार्यक्रमलाई झनै मनोरञ्जक बनायो।
कार्यक्रममा सुबोध गगन बनेर देखिँदा कर्मा लामाले चर्चित पात्र मिलन चक्रेको भूमिकामा सबैको ध्यान खिचे भने प्रभात गिरिजा कोइरालाको रूपमा प्रस्तुत भए। झट्ट हेर्दा कर्माको हाउभाउ, बोली र शैली मिलन चक्रेसँग निकै मिल्दोजुल्दो देखिँदा दर्शकहरूले खुलेर प्रशंसा गरेका छन्।
यसपटक कर्माको प्रस्तुतीमा मिलन चक्रे गोरखामा भोट माग्न व्यस्त रहेको नाटकीय दृश्यदेखि गुण्डा नाइके हुँदा प्रहरीबाट पीडा भोगेको कथासम्म रोचक ढंगले चित्रण गरिएको थियो। हास्यसँगै सामाजिक व्यंग्य मिसिएको उक्त अभिनयले दर्शकलाई हसाउनु हसाए। कर्माले हसाउदै गर्दा प्रतिकको नाम भने छुटाउनु हुन्न, उनले कर्मालाइ सहयोगि बनेर साथ दिएका थिए।
गत हप्तासम्म महिलाको पात्रमा देखिँदै आएका कर्मा लामाले यो साता भने आजसम्म कार्यक्रममा कसैले नगरेको फरक र चुनौतीपूर्ण पात्र प्रस्तुत गरेर आफू बहुप्रतिभाशाली कलाकार भएको प्रमाणित गरेका छन्।
स्टार कमेडियनहरू अमेरिका व्यस्त रहे पनि नयाँ कलाकारहरूको दमदार प्रस्तुतिले ‘कमेडी नाइट्स विथ च्याम्पियन’ ले आफ्नो लोकप्रियता कायम राख्दै दर्शकको मन जित्न सफल देखिएको छ।

प्रतिक्रिया दिनुहोस