गोरखा । पैसा भन्दा समाजसेवा ठुलो हो भन्ने मान्यता राख्ने गोरखाका प्रेमकुमार खत्री एक परिचित समाजसेवी हुन । गोरखाको पहाडी भूगोलमा पद भन्दा पहिले समाजसेवीका रुपमा चिनिन्छन प्रेमकुमार खत्री उनले व्यवसायको आर्जनलाई समाजसेवामा लगाउने गरेको स्थानीयहरु सुनाउछन।
पैसा कमाउन सक्ने क्षमता सबैमा हुन सक्ने भएपनि , आफूले कमाएको पैसाले समाजसेवा गर्ने केही मानिस हुन्छन भन्ने कुराका एक प्रमाणित उदाहरण हुन प्रेमकुमार खत्री । गोरखाको सामाजिक अभियन्ताका रूपमा खत्रीले आफनो नाम स्थापित बनाएका छन ।
आरुघाट–८, आरुपोखरीमा जन्मेर हुर्किएका ४१ वर्षिय खत्रीले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। युवावस्थामै पर्यटन व्यवसायमा लागेका खत्रीले क्रमशः ऊर्जा र कृषि क्षेत्रमा पनि लगानी विस्तार गरे। व्यवसायिक सफलतासँगै सामाजिक दायित्व वहन गर्नुपर्छ भन्ने सोचले उनलाई गाउँ–गाउँ जोड्यो। २२ वर्षको उमेरदेखि नै उनले सामाजिक कामलाई निरन्तरता दिदै आएका हुन्।
२०७२ सालको विनाशकारी गोरखा भूकम्पले जिल्लालाई तहसनहस बनाएको बेला खत्री राहत, उद्धार र पुनर्निर्माणमा अग्रपंक्तिमा देखिए। घरबारविहीन भएका विपन्न परिवारका लागि ७९ वटा घर निर्माण गरी हस्तान्तरण गर्नु उनका लागि केवल परोपकार होइन, सामाजिक उत्तरदायित्व थियो। भूकम्पपछिको कठिन समयमा खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सामग्री र पुनःस्थापनाका प्रयासमार्फत उनले गाउँ–गाउँमा पुगेर सहयोग गरे।
कोभिड महामारीका बेला पनि उनी सक्रिय रहे। जोखिमका बीच एम्बुलेन्स, अक्सिजन सिलिन्डर र औषधिसहित दुर्गम बस्तीमा पुगेर सेवा पु¥याए। गोरखाका ११ वटै स्थानीय तहमा १३ वटा एम्बुलेन्स उपलब्ध गराउँदै स्वास्थ्य पहुँच विस्तारमा योगदान दिएका छन्। ७ वटा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना तथा आवश्यक उपकरण सहयोग गरेर गाउँमै उपचारको आधार तयार पारिएको छ। नियमित स्वास्थ्य शिविरमार्फत निःशुल्क जाँच र औषधि वितरणले हजारौँ नागरिक लाभान्वित भएका छन्।
शिक्षा, स्वास्थ्य , पर्यटन सहित गोरखाको भौतिक तथा मानवीय विकासका क्षेत्रमा खत्रीको योगदान चर्चा योग्य रहेको स्थानीय सुनाउछन । पार्टीभित्र युवा र परिवर्तनको पक्षमा बोल्दै आएका खत्री यसपटक गोरखा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको छ। ३० भन्दा बढी देशको भ्रमण गरी त्यहाँको विकास अनुभव नजिकबाट अध्ययन गरेको बताउने खत्रीले पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा लगानीमार्फत सयौँ युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गरिएको दाबी छ। अब ती अनुभवलाई नीतिगत तहमा रूपान्तरण गर्ने आफनो लक्ष्य रहेको मतदाताहरुसंग मत माग्ने क्रममा बाचा गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस