काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारको उपचारमा हालसम्म १ हजार १३९ मानिसले आर्थिक सहयोग गरिसकेका छन् । सोमबार एसीएल सर्जरी र रिह्याबिलिटेशनका लागि आर्थिक सहयोग अपिल गरेकी साम्बाले यो समाचार तयार गर्दासम्म ४८ हजारभन्दा बढी अमेरिकी डलर सहयोग पाइसकेकी छन् ।
साम्बाले पोस्टमा राखेका लिङ्कमा क्लिक गर्दा विभिन्न मानिसले आफ्नो सामार्थ्यअनुसार सहयोग गरेको पनि देख्न सकिन्छ । मानिसहरुले उनको स्वास्थ्य लाभको कामना गर्दै देशविदेशबाट सहयोग गरिरहेको पनि देखिन्छ ।
केहीले सहयोग प्राइभेट राखेका छन् । कतिले नाम नखुलाई सहयोग गरेका छन् । १० देखि १००० अमेरिकी डलरसम्म सहयोग गरेको पाइएको छ । साम्बाले पोस्ट गरेपछि सामाजिक सञ्जालमा नेपाली खेलाडीको अवस्थाप्रति दुःख व्यक्त गर्दै अपिलका लागि एउटा वेभ नै सुरु भएको थियो ।
उपचारमा करिब ८० हजार अमेरिकी डलर लाग्ने पनि साम्बाले पोस्टमा उल्लेख गरेकी थिइन् । उनले एन्फाले केवल ५ लाख रुपैयाँ दिने उल्लेख गरेकी थिइन् । उनको पोस्ट सामाजिक सञ्जालमा निकै सेयर भएपछि विभिन्न सेलिब्रेटी, फुटबल समर्थक, तथा आम जनताले पनि उनलाई आर्थिक सहयोग गर्न अपिल गरेका थिए ।
चौतर्फी दबाब सृजना भएपछि एन्फाले साम्बाको उपचारका लागि कतार फुटबल संघसँग निवेदन गरेको पत्र र पराराष्ट्र मन्त्रालयलाई पठाएको पत्र पनि एन्फाले सार्वजनिक गरेको थियो । त्यसपछि काठमाडौं मेडिकल कलेजले पनि साम्बाको निःशुल्क उपचार गर्ने भनेर विज्ञप्ति नै जारी गर्यो । एक्स्ट्रिम एनर्जी ड्रिङ्कले पनि साम्बालाई ५ लाख रुपैयाँ दिने घोषणा गर्यो ।
अन्तर्राष्ट्रिय क्लब वेलिङ्टन फिनिक्स एफसीबाट व्यवसायिक फुटबल खेल्छिन् । नेपालमा फुटबलको अवस्था दयनिय भएपनि क्राउन्ड फन्डिङबाट गरेरै भएपनि खेलाडी प्रतिभालाई मर्न नदिन मानिसहरु एकजुट भएको पनि सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस