काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताए । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको भनाइ छ ।
उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा कांग्रेसले सहयोग गर्ने बताए ।
पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने केसीको भनाइ छ । ५० दिनको छोटो अवधिमा जादु जसरी परिवर्तन खोज्नु व्यावहारिक नहुने उनको भनाइ छ ।
यस्तो छ केसीको भनाइ :
कुनै पनि नेपाली कांग्रेसका साथीले हारबाट आत्तिनुपर्ने कुरा छैन । यत्रो ठूलो जनमत प्राप्त गरेर आउनुभएका साथीहरू छन् । उहाँहरूलाई हाम्रो सम्पूर्ण रूपबाट शुभेच्छा छ । स्थिरता दिनुस्, समृद्धि र विकास दिनुस् । र, लोकतन्त्रलाई संरक्षण गर्ने काममा उहाँहरू जहाँ-जहाँ अगाडि बढ्नुहुन्छ त्यो साथमा हामी पनि छौँ । सभापतिको राजीनामाबारे सार्वजनिक रूपमा मैले पहिले नै भनेको छु । एक चुनावको जीत र हारबाट नेतृत्वको परीक्षण हुनु गलत हुन्छ । ५० दिनको अवधिमा विगत वर्षौंदेखि थुप्रिएका विकृति र विसंगति तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा ५० दिनमा के गर्न सकिन्छ ? म त गगनजीले राजीनामा गर्नु नै बेठिक भन्ने मान्छे हो । अहिले केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे छलफल हुने भएकोले यसमा व्यक्तिगत टिप्पणी नगरौँ । एउटा ठूलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बीचमा छोडेर जान मिल्दैन । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस