बिहीबार , साउन २१ गते २०८३

‘लालीबजार’ तयार भएपछि अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्दै षट्कोण आट्र्स

‘लालीबजार’ तयार भएपछि अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्दै षट्कोण आट्र्स

अखबार दैनिक
बुधबार, चैत २५ २०८२
  • ‘लालीबजार’ तयार भएपछि अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्दै षट्कोण आट्र्स

    आगामी वैशाख १८ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ ।फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आट्र्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको हो ।

    फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै फिल्मको विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेता पनि निर्माण पक्षले प्राविधिक रुपमा तयार भएपछि फिल्म प्रदर्शन अधिकार बिक्री गर्न लागेको हो ।

    षट्कोण आट्र्सद्वारा निर्मित फिल्महरूले डायस्पोरा वितरकलाई घाटा नगराई मुनाफा दिलाउने भएकाले पनि ‘लालीबजार’ खरिदका लागि विभिन्न प्रस्ताव आइरहेका छन् । डायस्पोरामा राम्रो व्यपार गर्नेसँगै दर्शकको विश्वास जित्ने फिल्म निर्माण कम्पनिका रुपमा षट्कोण आट्र्स प्रमाणित भईसकेको छ ।

    निर्माण कम्पनीका अनुसार फिल्म तीन साताअघि नै प्रदर्शनका लागि तयार भइसकेको हो । डायस्पोरा अधिकार खरिद गर्ने वितरकलाई प्राविधिक काम अन्तिम चरणमा हुँदा झन्झट हुने भएकाले फिल्म पूर्ण रूपमा तयार भएपछि मात्र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न लागिएको जनाइएको छ ।

    फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अब फिल्मको विदेश प्रदर्शनलाई लक्षित गर्दै वितरण सम्झौतामा अगाडि बढ्ने तयारी भइरहेको जनाएका छन् । उनका अनुसार डायस्पोरा अधिकार खरिदका लागि आएका प्रस्तावमा निर्माण समूहमा छलफल गरेर प्रदर्शन अधिकार बिक्री गरिनेछ ।

    ‘हामीले पहिला फिल्म तयार गर्यौं, किनकि फिल्म तयार नहुँदा अन्तराष्ट्रिय वितरकले खेप्नु परेको सास्तीसँग हामी जानकार छौँ । त्यसकारण हामीलाई प्रस्ताव आएता पनि पहिला फिल्म तयार गरेर कुरा गर्छौँ भनेका थियौँ । अब हामीले सम्झौता गरेसँगै फिल्म दिन सक्छौँ । हामी वैशाखको पहिलो सातासम्म सम्पूर्ण प्रदर्शन अधिकार बिक्री गर्ने तयारीमा छौँ’, निर्माता खत्रीले भने ।

    उनले फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै फिल्मको विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेको बताए । गत फागुन २९ मा सार्वजनिक गरेको फिल्मको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ एक महिना नपुग्दै एक करोड पन्ध्रलाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ भने टिकटकमा हजारौं भिडिओ बनिसकेको छ ।

    फिल्मका लेखक तथा निर्देशक यम थापाले नेपाली फिल्ममा नदेखिएको कथालाई दर्शक माँझ ल्याउन लागिएको बताए । फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

    विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

    फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ । न्यूज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार