शुक्रबार, साउन २२ गते २०८३

युवालाई आफ्नो देश, गाउँ र पहाड फर्किन प्रेरित गर्ने फिल्म ‘पहाड’

युवालाई आफ्नो देश, गाउँ र पहाड फर्किन प्रेरित गर्ने फिल्म ‘पहाड’

अखबार दैनिक
मंगलबार, वैशाख ८ २०८३
  • युवालाई आफ्नो देश, गाउँ र पहाड फर्किन प्रेरित गर्ने फिल्म ‘पहाड’

    वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ ले समग्र नेपालको अवस्थालाई चित्रण गरेको सेलिब्रेटीले बताएका छन् ।फिल्मको सोमबार बेलुकी आयोजना गरिएको विशेष प्रदर्शनीमा फिल्म हेर्न पुगेका सङ्गीतकार शम्भुजित बाँस्कोटाले फिल्मले समग्र देशको अवस्थालाई चित्रण गरेको बताए ।

    ‘पहाड रितिदैछ, रोजगारी छैन, हरिया पहाड उजाड भएका छन् । यो फिल्मले दिएको संदेश राष्ट्रले ग्रहण गर्नुपर्छ । यहाँ युवालाई स्वदेश फर्कन र आफ्नो समस्यालाई सामूहिक रुपमा लडेर न्यूनीकरण गर्न प्रेरित गरिएको छ । फिल्म राम्रो बनेको छ,’ सङ्गीतकार बाँस्कोटाले भने ।
    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तुलसी घिमिरेका पहिलेका फिल्म झैँ मनोरन्जनसँगै सन्देश बोकेको ‘पहाडु स परिवार हेर्न मिल्ने फिल्म बनेको प्रतिक्रिया दिए ।

    उनले भने, ‘तुलसी दाईले फिल्ममार्फत दिनभएको संदेश प्रसंशनीय छ । फिल्ममा कलाकारको अभिनयसँगै पहाडमार्फत समग्र देशको अवस्थालाई चित्रण गरिएको छ । यो कथा पहाडको भएता पनि समग्र देश नै फिल्ममा देखिएको छ । युवालाई आफ्नो देश, गाउँ र पहाड फर्किन फिल्मले प्रेरित गर्छ ।’

    निर्देशक तुलसी घिमिरे, अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अभिनेत्री रेनुनाथ योगीसँगै डेब्यु अभिनेत्री पञ्चमी घिमिरे लगायतले फिल्मले पाइरहेको प्रतिक्रिया बारे जानकारी गराएका थिए । झन्डै नौ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका निर्देशक घिमिरेले दर्शक प्रतिक्रियाले आफू निकै उत्साहित रहेको बताए ।

    उनले भने, ‘हामीले फिल्ममार्फत भन्न खोजेको कुरालाई दर्शकले राम्रोसँग बुझ्नुभएको छ, अधिकाँस दर्शकले यसलाई आफ्नै कथा भन्नुभएको छ । मैले जे सन्देश दिन खोजेको थिएँ, त्यो दर्शकसम्म पुगेको छ । फिल्म हेर्न आउनु भएका दर्शक सन्तुष्ट भएर फर्किनु भएको छ ।’

    बेरोजगारी, मानवविहीन बन्दै गएको पहाड र पानी अभावजस्ता विषयमा आधारित फिल्मले अहिलेको समसामयिक विषयलाई पर्दामार्फत दर्शकसम्म पुर्याएको बताए ।

    अभिनेता विपिन कार्कीले फिल्मले पाएको प्रतिक्रियाले आफूसहित टिम उत्साहित रहेको बताए । ‘यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्दा आगामी दिनमा दर्शकको भीड अझ बढ्नेमा आशावादी छु । यसले नेपाली माटोको मौलिक कथा प्रस्तुत गरेको छ । फिल्म हेर्नेले पक्कै अन्यलाई सिफारिस गरेर फिल्म हेर्न हलसम्म पठाउनु हुनेछ’, उनले भने ।

    अभिनेता रवीन्द्र सिंह बानियाँले तुलसी घिमिरे जस्तो निर्देशकसँग काम गर्न पाउनु गौरवको विषय रहेको बताए । ‘म निर्देशक घिमिरेको फिल्महरू हेर्दै हुर्किएको पुस्ता परे, उहाँले नेपाली फिल्मलाई दिनुभएको योगदानको बारेमा शब्दमा वर्णन गर्न सकिदैन । मेरो इच्छा थियो उहाँसँग काम गर्ने, यो पुरा भएको छ । मेरो कलाकारिता यात्रामा यो सहकार्य अमुल्य छु, उनले भने ।

    फिल्म ‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्री तथा नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ। फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली बन्दै गएका पहाडी क्षेत्र र त्यसले निम्त्याएको सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ ।

    निर्देशक घिमिरेले यसअघि ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ तथा ‘चिनो’मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’मा समेटेका छन् । फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन्। भाग्यरत्न फिल्म्स प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्म ‘पहाड’मार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्। साथै, प्राविधिक टिममा निर्देशककी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्।

    फिल्ममा रञ्जित सिंह गजमेर संगीत निर्देशक रहेका छन्। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् भने भारती घिमिरे क्रिएटिभ निर्माता हुन्। फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गरेको छ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शंकर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार