काठमाडौं । पूर्व सञ्चारमन्त्री जगदिश खरेलले आफूविरुद्ध सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत भ्रामक समाचार फैलाइएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त सामग्रीलाई “फेक न्युज” भन्दै यसप्रति भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।
खरेलले आफू कुनै पनि गलत कार्यमा संलग्न नरहेको दाबी गर्दै हाल कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको स्पष्ट पारेका छन्। उनले सत्य अन्ततः बाहिर आउने विश्वाससमेत व्यक्त गरेका छन्।
उनका अनुसार केही व्यक्तिहरूले नियोजित रूपमा आफ्नो चरित्रमाथि प्रहार गर्ने प्रयास गरिरहेका छन्। उनले आफ्नो इमान र नैतिकतामा कुनै कमी नरहेको बताउँदै यस्ता भ्रामक र कपोलकल्पित आरोपविरुद्ध कानुनी उपचारको बाटो अपनाउने चेतावनी दिएका छन्।
खरेलले आफू सत्य र न्यायको पक्षमा रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा आएका अपुष्ट समाचारप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस