आइतबार, असोज ४ गते २०८३

९ दिनपछि खुल्यो भेरी करिडोर, फेरि अवरुद्ध हुने जोखिम कायमै

९ दिनपछि खुल्यो भेरी करिडोर, फेरि अवरुद्ध हुने जोखिम कायमै

अखबार दैनिक
आइतबार, भदौ ७ २०८३
  • ९ दिनपछि खुल्यो भेरी करिडोर, फेरि अवरुद्ध हुने जोखिम कायमै

    ७ भदौ, जाजरकोट । बाढीले बगाएपछि नौ दिनदेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत भेरी करिडोरको ताक्सुगाड सडक सञ्चालनमा आएको छ। नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्रमा पर्ने ताक्सुगाडमा सडकसँगै पुल र चारवटा घर बाढीले बगाएपछि यातायात ठप्प भएको थियो।

    नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक योजनाले क्षतिग्रस्त सडक मर्मत तथा आवश्यक संरचना निर्माण गरेपछि यातायात सञ्चालनमा आएको हो।

    लामो समयदेखि सडक अवरुद्ध हुँदा समस्या भोग्दै आएका यात्रु तथा स्थानीय सडक खुलेपछि केही सहज भएको बताउँछन्। नलगाड–१२ का तेजबहादुर विकले सडक सञ्चालनमा आएपछि दैनिक आवतजावत तथा आवश्यक सामग्री ढुवानीमा राहत मिलेको बताए।

    तर, सडक सञ्चालनमा आए पनि यातायात पूर्ण रूपमा सुरक्षित भने छैन। ताक्सुगाड खोलामा पानीको बहाव बढेमा सडक पुनः अवरुद्ध हुन सक्ने जोखिम कायमै रहेको स्थानीयले बताएका छन्। लगातार वर्षा भइरहेकाले माथिल्लो क्षेत्रमा पानी पर्दा खोलामा एक्कासि पानीको बहाव बढ्ने गरेको छ।

    नहरमा समेत ठूलो क्षति

    Bheri-coridor-2.jpg

    बाढीले ताक्सुगाडमा सडक र पुलसँगै रोली ज्यूलामा ल्याइएको नहरमा समेत ठूलो क्षति पुर्‍याएको छ। नहर क्षतिग्रस्त भएपछि स्थानीयको सिँचाइ सुविधामा प्रत्यक्ष असर परेको छ।

    नहर पुनर्निर्माणका लागि नगरपालिकाले लागत अनुमान तयार गरी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत निर्माण गर्ने तयारी गरेको नगरप्रमुख डम्बर रावतले जानकारी दिए।

    उनका अनुसार बाढीबाट क्षतिग्रस्त संरचनाको तत्काल मर्मतसँगै दीर्घकालीन रूपमा सुरक्षित संरचना निर्माण आवश्यक छ। वर्षायाममा पानीको बहाव बढ्दा सडक तथा नहरमा पटक–पटक क्षति हुने भएकाले बाढीको जोखिमलाई ध्यानमा राखेर संरचना निर्माण गर्नुपर्ने नगरपालिकाको भनाइ छ।

    स्थायी पुल नहुँदा भेरी करिडोरमा जोखिम

    भेरी करिडोरअन्तर्गतका विभिन्न खोलामा वर्षायाममा पानीको बहाव बढ्दा सडक सञ्चालनमा समस्या हुँदै आएको छ। कतिपय स्थानमा सडक निर्माण भए पनि स्थायी पुल तथा कल्भर्ट निर्माण नहुँदा सवारीसाधनले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ।

    छलगाडमा पुल निर्माण नहुँदा डोल्पाको सदरमुकाम दुनैसम्म नियमित यातायात सञ्चालनमा समेत समस्या हुने गरेको छ। खोलामा पानीको बहाव बढेपछि सवारीसाधन रोकिने र यात्रुले पैदल हिँडेर जोखिमपूर्ण रूपमा खोला पार गर्नुपर्ने अवस्था आउने गरेको स्थानीय बताउँछन्।

    भेरी करिडोर डोल्पाका नागरिकलाई प्रदेश राजधानी सुर्खेतलगायत अन्य जिल्लासँग जोड्ने महत्वपूर्ण सडक हो। सडकमा समस्या आउँदा डोल्पाका अधिकांश क्षेत्रमा दैनिक जीवन प्रभावित हुने गरेको छ।

    पाँच पुलको ठेक्का, निर्माण अझै अधुरो

    भेरी करिडोरअन्तर्गत पाँचवटा महत्वपूर्ण पुल निर्माणका लागि क्याराभान हिराचन जेभीले ठेक्का पाए पनि हालसम्म निर्माण कार्य पूरा हुन सकेको छैन।

    २०७७ माघ २ गते जाजरकोटको नलगाड र झुर्मेखोलाको पक्की पुल निर्माणका लागि उक्त कम्पनीले १८ करोड ४३ लाख ४३ हजार रुपैयाँमा ठेक्का लिएको थियो। त्यसैगरी त्रात्रखोला, मैदेखोला र ताक्सुगाड चौखाको पुल निर्माणको ठेक्का पनि सोही कम्पनीले पाएको थियो। यी तीन पुलको ठेक्का रकम १३ करोड ५४ लाख रुपैयाँ बराबर रहेको छ।

    यी पुलहरू भेरी करिडोरका महत्वपूर्ण संरचना भए पनि निर्माणमा ढिलाइ हुँदा वर्षायाममा यातायात सञ्चालन थप जोखिमपूर्ण बन्दै आएको छ।

    Bheri-coridor-3.jpg

    ११८ किलोमिटर सडकले जोड्दैछ जाजरकोट–डोल्पा

    जाजरकोटदेखि डोल्पासम्मको भेरी करिडोर सडकको लम्बाइ करिब ११८ किलोमिटर छ। यसले जाजरकोटसँगै डोल्पाका विभिन्न स्थानीय तहलाई सडक सञ्जालमा जोडेको छ।

    सडक निर्माण तथा स्तरोन्नतिपछि डोल्पाका नागरिकलाई यातायात पहुँच सहज भए पनि बाढीपहिरो र पुल अभावका कारण नियमित यातायात अझै चुनौतीपूर्ण छ।

    वर्षायाममा खोलामा पानीको बहाव बढ्दा सडक अवरुद्ध हुने र हिउँदमा यातायात तुलनात्मक रूपमा सहज हुने गरेको छ। सडक अवरुद्ध हुँदा डोल्पामा खाद्यान्न, औषधि, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत प्रत्यक्ष असर पर्ने गरेको छ।

    ताक्सुगाडमा नौ दिनपछि सडक खुलेसँगै जाजरकोट–डोल्पा सडकखण्डमा यातायात पुनः सञ्चालन भएको छ। तर, बाढीबाट क्षतिग्रस्त सडक, पुल र नहरको स्थायी समाधान नगरेसम्म वर्षायाममा यातायात अवरोध दोहोरिने जोखिम भने कायमै छ।

    स्थानीयले ताक्सुगाडसहित भेरी करिडोरका जोखिमयुक्त स्थानमा स्थायी पुल, कल्भर्ट तथा सुरक्षित सडक संरचना निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र सम्बन्धित निकायले दीर्घकालीन योजना अघि बढाउन माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार