काठमाडौं, १ असोज । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ।
सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्विटी लगानी रहनेछ।
आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन्।
जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ।
आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेका छन्। वित्तीय व्यवस्थापनसमेत पूरा भएकाले अब निर्माण कार्यलाई तीव्रता दिइने कम्पनीले जनाएको छ।
जाल्दीगाड आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाटको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिना अगावै सम्पन्न गरिएको कम्पनीको दाबी छ।
यही समूहले गोरखामा ४.६ मेगावाटको बूढीगण्डकी हाइड्रोपावर आयोजना समेत निर्माण गरिरहेको छ। कम्पनीले आगामी ६ महिनाभित्र त्यसबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस