शुक्रबार, असोज २ गते २०८३

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

अखबार दैनिक
बिहीबार , असोज १ २०८३
  • हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

    इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । लाल सागरको तट हुँदै रणनीतिक समुद्री मार्गतर्फ हुथीहरू अघि बढेपछि सर्वसाधारणले घर छाडेर सुरक्षित स्थानतर्फ पलायन हुनुपरेको हो ।    
        
    चार महिनाकी गर्भवती इशराक अब्देल जलिल र उहाँका श्रीमान् मोहम्मद थाबेट पनि विस्थापित हुनेमध्येका हुनुहुन्छ । हुथी लडाकु नजिकिँदै गएपछि उनीहरूले पाँच किलोमिटर पैदल यात्रा गरेपछि पहाडी बाटो हुँदै करिब ६० किलोमिटर सवारी साधनमा यात्रा गरी दक्षिणपश्चिमी सहर ताइज पुगेका थिए ।    
        
    थाबेटका अनुसार पछिल्लो लडाइँ सन् २०१७ को द्वन्द्वभन्दा पनि भीषण थियो । “घर नजिकै गोलाबारी भइरहेको थियो र विस्फोटका छर्रा उडिरहेका थिए,” उहाँले भन्नुभयो ।    
        
    ताइज पुगेपछि चिकित्सकले गर्भमा रहेको बच्चा तल सरेको जानकारी दिएपछि अब्देल जलिल थप चिन्तित हुनुभएको छ । यसअघि पनि सोही अवधिमा उहाँको गर्भपतन भएको थियो । अहिले उनीहरू विस्तारित परिवारसँग एउटै घरमा बसिरहेका छन् र दिनमा दुई पटक मात्र खाना खान सक्ने अवस्थामा छन् ।    
        
    थाबेटकी बहिनीले एक महिनाभन्दा बढी समयदेखि मधुमेहको औषधि किन्न नसकेको उहाँले बताउनुभयो । उहाँकी बहिनी र दुई छोरीमा रक्तअल्पताको जोखिम बढाउने रक्तसम्बन्धी समस्या रहेको पनि उहाँले बताउनुभयो ।    
        
    संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला हेर्ने निकायका अनुसार पछिल्लो लडाइँमा आठ सर्वसाधारणको मृत्यु भएको र ३२ जना घाइते भएका छन् । युनिसेफका अनुसार विस्थापितमध्ये ५७ हजारभन्दा बढी बालबालिका छन् ।    
        
    “यो यमनले विगत केही वर्षमा देखेको सबैभन्दा तीव्र र अस्थिर विस्थापनको लहरमध्ये एक हो,” यमनका लागि युनिसेफ प्रतिनिधि ओबिया अचिएङले भन्नुभयो । उहाँका अनुसार परिवार प्रायःरातको समयमा अत्यन्तै कम वा कुनै पूर्वसूचनाबिना घर छाड्न बाध्य भएका छन् ।    
        
    यमनमा सन् २०१४ मा हुथीहरूले राजधानी साना र उत्तरी भू–भागको ठूलो हिस्सा नियन्त्रणमा लिएपछि गृहयुद्ध सुरु भएको थियो । त्यसको अर्को वर्ष साउदी अरबले अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो । सन् २०२२ को युद्धविरामपछि लडाइँ केही हदसम्म रोकिएको भए पनि पछिल्लो समय पुनः चर्किएको हो ।    
        
    संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्लो द्वन्द्व सुरु हुनुअघि नै करिब ५० लाख यमनी गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए ।    
        
    सहायता संस्थाले विस्थापितलाई खाद्य सामग्री, खानेपानी, सरसफाइका सामग्री, स्वास्थ्य सेवा र अस्थायी आवासको तत्काल आवश्यकता रहेको बताएका छन् । केही विस्थापित १६ घण्टाभन्दा बढी पैदल हिँडेर ताइज पुगेको र कतिपय बालबालिकामा कुपोषणका लक्षण देखिएको सहायता संस्थाले जनाएका छन् ।     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ