बिहीबार , साउन २१ गते २०८३

लगानी बोर्डद्वारा ३८ अर्ब विदेशी लगानी स्वीकृत

लगानी बोर्डद्वारा ३८ अर्ब विदेशी लगानी स्वीकृत

अखबार दैनिक
बुधबार, कात्तिक २६ २०७७
  • लगानी बोर्डद्वारा ३८ अर्ब विदेशी लगानी स्वीकृत

    कात्तिक २६,

    लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रू. ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५औं बैठकले तीन ठूला परियोजनाका लागि रू. ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।  

    सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि रू. १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले बताए । उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि रू. १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत् परियोजनाका लागि रू. १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो ।     

    बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना ब्यांक र विभिन्न सरोकारवाला निकायहरूसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको थियो । लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा ‘नलेज म्यानेजमेन्ट पोर्टल’को स्थापना तथा उपयोग गर्ने विषयमा समेत छलफल भएको मिश्रले बताए । प्रधानमन्त्री ओलीले बैठकमा कोभिड-१९ ले नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको विलम्बलाई हटाउन नयाँ प्रविधिको आवश्यकता भएको बताएका थिए। उनले कोरोनाका कारण बोर्डको बैठक नियमित बस्न असहज भए पनि आगामी दिनमा नियमित हुने जानकारी दिए ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत् प्रवर्द्धन र सहजीकरण भएका परियोजनाहरू कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए । भट्ट सीईओ नियुक्ती भएपछि बोर्डको पहिलो बैठक मङ्गलबार बसेको हो ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार