शुक्रबार, कात्तिक २० गते २०८३

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

अखबार दैनिक
मंगलबार, कात्तिक १७ २०८३
  • भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

    नेपालगञ्ज (बाँके), १७ कात्तिकः भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल रोगको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ ।    
        
    उक्त सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र निद्रासम्बन्धी समस्या भएका बिरामी लाभान्वित हुने डा रञ्जीत पाण्डेले जानकारी दिनुभयो ।    
        
    डा पाण्डेका अनुसार विशिष्टीकृत सेवाअन्तर्गत दीर्घकालीन दम, पुरानो खोकी, श्वासप्रश्वास, छातीमा पानी जम्ने, क्षयरोग, फोक्सो बाथ रोग तथा फोक्सो सुक्ने समस्या लगायतका रोगको उपचार तथा परामर्श सेवा उपलब्ध हुनेछ ।    
        
    त्यस्तै, सुत्दा घुर्ने, निद्राका क्रममा श्वासप्रश्वास रोकिने, निद्रा लागिरहने तथा पर्याप्त सुते पनि शरीर ताजा महसुस नहुनेजस्ता समस्याको पहिचान र उपचार हुने अस्पतालले जनाएको छ ।    
        
    क्षयरोगका बिरामीको उपचार तथा औषधि प्रतिरोधी र औषधिप्रति संवेदनशील क्षयरोगका विषयमा आवश्यक परामर्शसमेत प्रदान गरिने उहाँको भनाइ छ ।    
        
    त्यस्तै, निमोनियालगायतका गम्भीर बिरामीको सघन उपचार, भेन्टिलेटरमा रहेका बिरामीको व्यवस्थापन तथा भेन्टिलेटरबाट बाहिर निकाल्ने सम्बन्धमा आवश्यक उपचार र परामर्शमा समेत विशिष्टीकृत सेवा प्रदान गरिने डा पाण्डेले जानकारी दिनुभयो ।    
        
    डा पाण्डेले फोक्सोसम्बन्धी रोगको उपचारसँगै अस्पतालको सघन उपचार सेवालाई थप प्रभावकारी बनाइनेसमेत बताउनुभयो ।    
        
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले विशेषज्ञ चिकित्सकमार्फत सुरु गरिएको सेवा यस क्षेत्रका बिरामीका लागि महत्वपूर्ण हुने बताउनुभयो ।    
        
    उहाँले फोक्सोसम्बन्धी दीर्घरोग, फोक्सोको क्यान्सर तथा निद्रासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी आजैदेखि विशेष क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।    
        
    उहाँका अनुसार अस्पतालले प्रदान गरेको विशिष्टीकृत सेवाबाट फोक्सोसम्बन्धी विभिन्न जटिल तथा दीर्घरोगको उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।(रासस)    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ