६ मंसिर, काठमाडौं । कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको घातक बलिङमा नेपालले राइजिङ स्टार्स एसिया कपमा पहिलो जित दर्ता गरेको छ। कतारमा आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको हो।
यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रन बनाए। उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरे।
त्यस्तै मयन यादवले २७ रन बनाउँदा बसिर अहमद १८ रनमा अविजित रहे। भुर्तेलको संयमित ब्याटिङले नेपाललाई सहज जिततर्फ अघि बढाएको थियो।
यूएईका लागि मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले समान एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। यूएईका मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए भने हरप्रीत सिंह भाटियाले ३२ रनको योगदान दिए। नूर उल्लाह अयोबीले १२ रन बनाए।
यूएईको ब्याटिङ धराशायी बनाउन नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्रै खर्चेर ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३ मेडन ओभरसमेत राखे।
त्यस्तै कुशल भुर्तेलले पनि ३ विकेट लिए। नन्दन यादव, रासिद खान र ललित राजवंशीले समान एक विकेट झारेपछि यूएई ठूलो स्कोर बनाउन असफल भयो।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत 'ए' सँग निराश भएको थियो। उक्त खेलमा नेपाल २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोर्न पुगेको थियो।
पहिलो खेलको खराब प्रदर्शनपछि यूएईविरुद्धको जितले नेपाली टोलीको मनोबल बढाएको छ। अब नेपालले प्रतियोगिताको अर्को खेलमा मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस