मंगलबार, मंसिर ८ गते २०८३

बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको क्वासर पत्ता

बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको क्वासर पत्ता

अखबार दैनिक
मंगलबार, मंसिर ८ २०८३
  • बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको क्वासर पत्ता

    केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन् । यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गाको विकासबारे नयाँ जानकारी दिएको छ ।

    जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै बनेको थियो । यस खोजले यसअघि कायम रहेका दूरी तथा समयसम्बन्धी अभिलेख तोडेको छ ।

    युरोपेली दक्षिणी वेधशालाका अनुसन्धानकर्ता तथा अध्ययनका प्रमुख जुलियन वुल्फका अनुसार यसअघिका दुई अभिलेखले क्वासरको निर्माण समय करिब डेढ करोड वर्षले मात्र पछाडि सारेका थिए । तर नयाँ खोजले त्यो समय करिब चार करोड वर्ष पछाडि पुर्‍याएको छ । उहाँले यसलाई झन्डै एक दशकयताकै ठूलो प्रगति बताउनुभएको छ ।

    युरोपेली अन्तरिक्ष एजेन्सीको युक्लिड टेलिस्कोपले सङ्कलन गरेका लाखौँ अवलोकनको विश्लेषण गर्ने क्रममा अनुसन्धान टोलीले उक्त क्वासर फेला पारेको हो । सन् २०२३ मा प्रक्षेपण गरिएको युक्लिड टेलिस्कोपले ब्रह्माण्डको विस्तारमा भूमिका खेल्ने डार्क म्याटर र डार्क इनर्जीबारे जानकारी प्राप्त गर्न आकाशगङ्गाहरूको सर्वेक्षण गरिरहेको छ ।

    अनुसन्धानकर्ता वुल्फका अनुसार ब्रह्माण्डको सुरुआती अवस्थामा क्वासर भेटिनु आफैँमा दुर्लभ घटना हो । त्यसमा पनि यसको ब्ल्याक होलको असाधारण ठूलो आकार र त्यसले वरिपरिको पदार्थ तुलनात्मक रूपमा सुस्त गतिमा ग्रहण गरिरहेको अवस्था थप चासोको विषय बनेको छ । वैज्ञानिकहरूले यसलाई करिब १३ अर्ब १० करोड वर्षअघिको अवस्थामा देखेका हुन् । त्यतिबेला ब्रह्माण्डको उमेर अहिलेको तुलनामा पाँच प्रतिशतभन्दा कम थियो ।

    वुल्फले आयरल्यान्डको अरान टापुमा रहेको प्रागैतिहासिक ढुङ्गे किल्ला डन ओङ्हासाको नामबाट उक्त क्वासरलाई यही नाम दिनुभएको छ । उहाँकी श्रीमती र छोरी आयरिस भएकाले परिवारसहित उक्त किल्ला भ्रमण गर्दा त्यसबाट प्रभावित हुनुभएको थियो । उहाँका अनुसार किल्लाले क्वासरले जस्तै अझै अन्वेषण गर्न बाँकी विशाल क्षितिजको सङ्केत गर्छ ।    
        
    हबल र जेम्स वेब अन्तरिक्ष दूरबिनलगायत पृथ्वी तथा अन्तरिक्षमा रहेका अन्य वेधशालाबाट पनि टोलीको खोज पुष्टि भएको छ । वेब दूरबिनबाट प्राप्त विवरणअनुसार उक्त क्वासरलाई ऊर्जा प्रदान गर्ने ब्ल्याक होलको द्रव्यमान सूर्यको भन्दा करिब ३६ करोड गुणा बढी छ । ब्रह्माण्डको यति प्रारम्भिक चरणमै ब्ल्याक होलको आकार यति ठूलो हुनु वैज्ञानिकका लागि आश्चर्यको विषय बनेको छ ।

    अध्ययनको अन्तिम निष्कर्ष ‘एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित भएको छ । वुल्फले बिग ब्याङपछि करिब ६३ करोड वर्षमै ब्ल्याक होल सूर्यको द्रव्यमानको ३६ करोड गुणासम्म कसरी बढ्यो भन्ने प्रश्नले प्रारम्भिक ब्रह्माण्डबारे थप अनुसन्धान आवश्यक बनाएको बताउनुभएको छ ।

    उहाँका अनुसार नयाँ खोजले प्रारम्भिक ब्रह्माण्डको अध्ययनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ । तर यो अभिलेख केही महिनामै अर्को खोजले तोड्न सक्ने वा वर्षौंसम्म कायम रहन सक्ने सम्भावना पनि उहाँले व्यक्त गर्नुभएको छ । रासस  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ