बिहीबार , साउन २१ गते २०८३

निर्वाचित सांसदलाई बेवास्ता गर्ने रामचन्द्र पौडेल कानुनभन्दा माथि हुन् ? : सांसद कृष्णकुमार श्रेष्ठ

निर्वाचित सांसदलाई बेवास्ता गर्ने रामचन्द्र पौडेल कानुनभन्दा माथि हुन् ? : सांसद कृष्णकुमार श्रेष्ठ

अखबार दैनिक
बिहीबार , मंसिर १८ २०७७
  • निर्वाचित सांसदलाई बेवास्ता गर्ने रामचन्द्र पौडेल कानुनभन्दा माथि हुन् ?  : सांसद कृष्णकुमार श्रेष्ठ

    मंसिर १८,

    तनहुँमा दुईवर्षअघि बनेको पुल उद्घाटन गर्ने क्रममा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच तनाब बढेको छ । तनहुँ व्यास नगरपालिकाको १, १० र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गर्न पुगेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रशासनले रोकेको थियो । निषेधाज्ञाको उलङ्घन गर्दै पुल उद्घाटन गर्न तम्सिएको भन्दै पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर साँझमात्रै रिहा गरेको थियो । पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई तनहुँ–१ का सांसद कृष्णकुमार श्रेष्ठले प्रशासन उचालेर धरपकड गर्न लगाएको र कानुनको दुरुपयोग गरेको कांग्रेसको ठहर छ ।

    त्यसको प्रतिवाद गर्दै आजै कांग्रेसले जुलुससहित तालघरे दुम्सीचौर सडकको अन्तर्गत बुल्दीखोलामा बनेको पुल उद्घाटन गरिछाड्ने अठोट लिएको छ । नेकपा सांसद कृष्णकुमार श्रेष्ठले कांग्रेसले विधि उलङ्घन गरेर पुल उद्घाटन गर्न खोजेको बताउँछन् । “चुनावबाट निर्वाचित जनताबाट अनुमोदित मानिस म हुँ । विकास निर्माण काम कुन सरकारले सुरु गर्यो भन्नुभन्दा पनि कसले अगुवाइ गरिरहेको छ भन्नेकुरा महत्त्वपूर्ण हुन्छ,” उनले भने, “जनताले यहाँको विकास निर्माणको अगुवाइ गर्न पनि मलाई नै अनुमोदित गरेको हुन् । तर, उहाँहरूले एकलौटी पुल उद्घाटन गर्न खोज्नुभयो । स्थानीय प्रशासनले रोक लगाएको कुरालाई पनि मलाई आरोपित गर्दै हुनुहुन्छ ।” 

    उनले निर्वाचित सांसदलाई बेवास्ता गरेर पौडेल एक्लै उद्घाटन गर्न जानु नै त्रुटिपूर्ण रहेको बताउँछन् । नेता पौडेलले मन्त्रालय तथा सम्बन्धित निकायबाट अनुमति नलिई एकतर्फी अघि बढ्दा समस्या निम्तिएको उनी बताउँछन् । “काङ्ग्रेसजत्तिको पार्टीलाई हामीले लोकतन्त्र, जनमत, विधि, पद्धति सिकाउने कुरा भएन,” उनी भन्छन्, “कि पौडेल देशको कानुन, नीति, नियमभन्दामाथि हुन् भन्नुपर्‍यो होइन भने मान्नुपर्‍यो ।”

    उनले आज पुल उद्घाटन गर्न कुनै अवरोध नगरिने उनको भनाइ थियो । हिजो राष्ट्रिय युवा सङ्गठनलगायत नेकपाका संघसङ्गठनका नेता कार्यकर्ताले अवरोध गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । आज कुनै कार्यक्रम नरहेको उनले बताए । “लोकतन्त्रको खिल्ली उडाउँदै, कानुन, विधि केही पनि मान्दिनँ भनेर अग्रसर भएपछि हामीले के गर्न सक्छौँ र ?,” उनी भन्छन्, “उहाँहरूलाई आज कुनै अवरोध हुँदैन ।”

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार