शुक्रबार, साउन २२ गते २०८३

घुस नखाने १८ ट्राफिक प्रहरी पुरस्कृत

घुस नखाने १८ ट्राफिक प्रहरी पुरस्कृत

अखबार दैनिक
आइतबार, पुस २६ २०७७
  • घुस नखाने १८ ट्राफिक प्रहरी पुरस्कृत

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ ।

    ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

    पछिल्लो समय ट्राफिक कारबाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ सवारी चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने उनीहरुसहित ५३ ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान भइसकेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई निगरानी गर्न आजदेखि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ सञ्चालन गरेको छ । उपत्यकाको व्यस्त सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न ‘ट्राफिक सर्भिलेन्स भेइकल’ प्रभावकारी हुने महाशाखाले जनाएको छ ।

    महाशाखाका प्रमुख भट्टराईले सो सर्भिलेन्स भ्यानको छतमा जडित सिसी टिभी क्यामराले करीब २०० मिटरसम्मको दृश्यलाई कैद गर्न सक्ने जानकारी दिए । सवारीसाधनको चाप हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङ्घन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने पनि उनले बताए । भ्यानमा खटिने पाँच ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिलाई भिडियो तथा फोटोमार्फत निगरानी गर्ने छन् । यसले ट्राफिक व्यवस्थापनमा र चालकलाई प्रमाणसहित कारबाही गर्न तथा थप सचेत गराउने महाशाखाको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार