बिहीबार , साउन २१ गते २०८३

प्रचण्ड–माधव समुहमा दाबेदार धेरै भएपछि सकस

प्रचण्ड–माधव समुहमा दाबेदार धेरै भएपछि सकस

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • प्रचण्ड–माधव समुहमा दाबेदार धेरै भएपछि सकस

    केपी ओली पक्षमा लागेका प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी हटाएर नयाँ नियुक्ति गर्ने सम्बन्धी मापदण्डमा सहमति हुन नसक्दा नेकपाको प्रचण्ड–माधव नेपाल समूहको कार्य विभाजन तथा समायोजन प्रक्रिया लम्बिएको छ ।

    शुक्रवारको स्थायी कमिटी बैठकबाटै ओली पक्षमा लागेका प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव हटाएर आफ्नो पक्षमा राख्ने तयारी थियो । तर मापदण्डमा सहमति नभएपछि प्रदेश १ बाहेक अन्य प्रदेश र जिल्लाको टुंगो नलागेको एक नेताले बताए ।

    शुक्रवारको बैठकले प्रदेश १ को अध्यक्षबाट ओली पक्षका देवराज घिमिरेलाई हटाई घनेन्द्र बस्नेतलाई जिम्मा दिने निर्णय गरेको छ । बस्नेत केपी ओलीसँगै जेल बसेका पूराना नेता हुन् ।

    त्यस्तै प्रदेश सहइन्चार्जबाट शेरधन राईलाई हटाएर राजेन्द्र राई र जयन्ती राइलाई थपिएको छ । बस्नेत र राईद्धय तीनै जना भोजपुरका हुन् । उनीहरु तीनै जना पूर्व एमालेका हुन् । प्रदेश इन्चार्ज भीम आचार्य पनि पूर्व एमालेकै हुन् ।

    सबै पदाधिकारी ओली पक्षमा लागेपछि खाली रहेको प्रदेश २ मा भने प्रचण्ड–माधव पक्षले पदाधिकारी टुंगो लगाउन सकेको छैन । प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल,अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल तीनै जना ओली पक्षमा छन् ।

    इन्चार्जमा पूर्व माओवादीका गिरिराजमणी पोखरेल र मातृका यादवको दावी छ । अध्यक्षमा भने पूर्व माओवादीका रामचन्द्र झा र पूर्व एमालेका धर्मनाथ साह,नागेन्द्र चौधरी, सत्रुघन महतो,रामचन्द्र यादव,श्रीप्रसाद साहको दावी छ । सचिवमा लक्ष्मण पौडेल र पुरुषोत्त पौडेल दाबेदार छन् । उनीहरु दुवै पूर्व एमालेका हुन् । प्रदेश २ को पदाधिकारी चयन पेचिलो बनेको नेताहरु बताउछन् ।

    त्यस्तै वागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेल ओली पक्षमा रहेकाले उनको ठाउँमा रसुवाका माधव अर्यालको नाम प्रस्ताव गरिए पनि निर्णय भएको छैन ।

    गण्डकी र लुम्बिनीमा भने यसअघिनै ओली पक्षका पदाधिकारी हटाएर प्रचण्ड माधव पक्षका नेताहरुलाई जिम्मेवारी दिइसकिएको छ । लुम्बिनीमा पनि जिम्मेवारी हेरफेर भइसकेको छ ।

    कर्णालीका अध्यक्ष गोरखवहादुर बोगटी ओली पक्षका हुन् । प्रचण्ड–माधव पक्षको बलियो मानिएको कर्णाली प्रदेशको अध्यक्ष कसलाई बनाउने भन्ने बारेमा एकमत भएको छैन । इन्चार्ज जनार्दन शर्मा शुक्रवारको बैठकमा उपस्थित नभएकाले त्यसबारे टुंगो नलागेको एक नेताले बताए ।

    कर्णालीको अध्यक्षमा पूर्व एमालेबाट प्रकाश ज्वालाको नाम माधव नेपाल पक्षले प्रस्ताव गरेको छ । तर प्रचण्ड पक्षले भने मायाप्रसाद शर्मालाई अघि सारेको छ । शर्मा साबिक नेकपाको प्रदेश कमिटीका सचिव हुन् ।

    सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण वहादु थापा ओली पक्षमा लागेपछि उनको ठाउँमा कसलाई बनाउने भन्ने टुंगो लागेको छैन । त्यहाँ पनि साबिक जुन पार्टीले जिम्मेवारी पाएको हो,त्यहि समूहको अर्को नेतालाई जिम्मेवारी दिदा राम्रो सन्देश जाने भन्दै नेताहरुले केन्द्रको ध्यानाकर्षण गराएका छन् । सुदूरपश्चिम प्रदेशको अध्यक्षको दाबेदार पूर्व एमालेबाट झपट रावल छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार